जनता टाइम्स

२५ असार २०७७, बिहीबार १६:००

नेपालबिरुद्ध लागेकी सरिता गिरी सांसदबाट निष्कासित : संसद सचिवालयले निकाल्यो पद रिक्त भएको सूचना


काठमाडौं, असार २५ । नेपाली भुमि भारतको हो भन्दै संबिधान संशोधनको बिपक्षमा उभिनुभएकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरी सांसद पदबाट मुक्त हुनुभएको छ । संघीय संसद सचिवालयले आज सांसद गिरीको सांसद पद रिक्त भएको सूचना जारी गरेको हो ।

संसद सचिवालयले सभामुख अग्निप्रसाद सापकोटालाई समाजवादी पार्टीले संसद सचिवालयलाई दिएको पत्रबारे जानकारी दिएपछि गिरीलाई पदमुक्त गरिएको हो । संसदका महासचिव भरतराज गौतमले सांसद गिरीलाई पार्टीले पार्टीबाट निष्कासन गरेको जानकारी संसद सचिवालयलाई जानकारी गराएको र उक्त जानकारी नियमअनुसार नै पाइएकाले गिरीको सांसद पद रिक्त भएको सूचना जारी गर्नुभएको छ । नेपालको संविधानको धारा ८९ बमोजिम सांसद गिरी सांसदबाट निष्कासित भएको संसद सचिवालयले जनाएको छ ।

नयाँ नक्शालाई निशान छापमा समावेश गर्ने गरी गरिएको संविधान संशोधन प्रस्तावमा मतदान गर्दा पार्टीको ह्विप नमानेको भन्दै समाजवादीले गिरीलाई निष्कासन गर्ने निर्णय गरेको थियो । गिरीले नेपालको नक्सा जारी र संबिधान संशोधनमा खुलेयाम भारतको पक्ष लिएर नेपालबिरुद्ध अभियान चलाउनु भएको थियो ।