पोखरा, असार २६
कास्कीका विभिन्न स्थानमा अविरल वर्षासँगै खसेको पहिरोमा पुरिएर ७ जनाको मृत्यु भएको छ । पहिरोले सिद्धार्थ राजमार्गसमेत अवरुद्ध हुन पुगेको छ ।
राति करिब पौने ३ बजेको समयमा पोखरा महानगरपालिका–१८, सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घर पहिरामा पर्दा घरमा सुतेकामध्ये पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय थापा, उनकी श्रीमती ४५ वर्षीया सोममाया, टंकबहादुरका दाजुका नाति ६ वर्षीय सुवान थापा र ११ वर्षकी इसिका थापा छन् ।
अर्का एक बालकको सनाखत भइनसकेको कास्की प्रहरीका डीएसपी सुवास हमालले जानकारी दिनुभयो । पहिरोमा टंकबहादुरका छोरीहरू २२ वर्षीया पिंकी र १८ वर्षीया आशा तथा पिंकीकी ५ वर्षीया छोरी पिरिसा घाइते भएका छन् । बिहीबार थापाको घरमा जन्मदिन मनाउन जम्मा भएका उनीहरू राति सुतेको बेला घरमाथिबाट खसेको पहिरोले पुरेको थियो ।
त्यसैगरी, पोखरा महानगरपालिका–२५, हेम्जामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्