म्याग्दी, असार २६
म्याग्दीमा बाढी र पहिरोमा पुरिएर १० जनाको ज्यान गएको छ भने १२ जना बेपत्ता भएका छन् । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण मालिका गाउँपालिका–७, विममा ८ जना र धवलागिरी–७, ताकममा दुई जनाको ज्यान गएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो ।
यसैगरी धवलागिरी–६, मराङमा बाढी तथा पहिरोमा परेर १२ जना बेपत्ता भएका प्रजिअ ढकालले बताउनुभयो । उहाँले दिएको जानकारी अनुसार मराङमा २० घरधुरी, विममा १० घरधुरी र ताकममा ५ घरधुरीमा क्षति भएको छ । मृतकको सनाखतको प्रयास भईरहेको छ ।
त्यस्तै अविरल वर्षाका कारण बेनी–जोमसोम सडकखण्ड अन्तर्गत गलेश्वरस्थित रघुगंगा खोलामाथिको पक्की बेलिब्रिजमा बाढीले पूर्ण रुपमा क्षति पुर्याएको छ । रघुगंगा खोलामा आएको बाढीले पुलमा पूर्ण क्षति पुर्याएपछि रघुगंगा गाउँपालिकाको १, २, ३, ४, ७ र ८ नम्बर वडा तथा अन्नपूर्ण गाउँपालिका र हिमालपारीको जिल्ला मुस्ताङसँगको सीधा यातायात सम्पर्कबिच्छेद भएको छ ।
प्रतिक्रिया दिनुहोस्