चितवन, असार २७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले नारायणी नदीको कटान रोक्नका लागि आवश्यक काम भइरहेकाले डर मान्नुपर्ने अवस्था नरहेको प्रष्ट पार्नुभएको छ ।
भरतपुर महानगरपालिका वडा नं २७ र २८ को सीमाक्षेत्र न्यूरेचोकमा नारायणी नदीले कटान गरेको क्षेत्रको आज निरीक्षण गर्दै सो क्षेत्रका सांसदसमेत रहनुभएका अध्यक्ष प्रचण्डले तत्कालका लागि अस्थायी समाधानको काम नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले गरिरहेको जानकारी दिनुभयो ।
अध्यक्ष प्रचण्डले आफ्ना निर्वाचन क्षेत्रको मतदाताको पीडामा साथ दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँगको आज तय भएको छलफललाई छाडेर निरीक्षणमा आएको जानकारी पनि दिनुभयो । पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्रीसँग परामर्श गरेर आफू निरीक्षणमा आएको अध्यक्ष प्रचण्डको भनाई छ । अध्यक्ष प्रचण्डले आफू निर्वाचित भएदेखि नै राप्ती र नारायणीमा तटबन्धसहितको चक्रपथ अघि वढाएको बताउनुभयो । विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कन कार्य भइसकेको र बजेटका लागि अर्थ मन्त्रालयमा कुरा भइरहेको उहााले जानकारी दिनुभयो । उहाँले सरकार सकारात्मक रहेकाले सो काम सम्पन्न हुने जानकारी दिनुभयो ।
केही दिनदेखि लगातार पानी परेपछि शुक्रबारबाट सो क्षेत्रमा नारायणीले कटान गर्न शुरु गरेको थियो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डलाई यस क्षेत्रका प्रदेशसभा सदस्य कृष्ण भुर्तेल र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नदी कटानका बारेमा जानकारी गराउनु भएको थियो । दाहालले आजै माडी नगरपालिकाको बाढी प्रभावित विभिन्न क्षेत्रको पनि निरीक्षण गर्नुहनेछ ।
प्रतिक्रिया दिनुहोस्