चितवन, असार २७
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्र विवाद चर्काइदिएर फाइदा लिन खोज्नेहरु सक्रिय रहेको खुलासा गर्नुभएको छ । पछिल्लो समय पार्टीमा देखिएको विवादका बीच गृहजिल्ला चितवन पुग्नु भएका उहाले पार्टीभित्र विवाद चर्काउने योजनामा कोही लागेको स्पष्ट शब्दमा उल्लेख गर्नुभएको छ ।
पार्टीभित्रको विवाद चर्काइदिएर फाइदा लिन खोज्नेहरू भेटिएको बताउनु भयो । ‘प्रतिक्रियावादीहरू के चाहन्छन् भने एकातिर गएर यो बेला केपी शर्मा ओलीलाई छोड्न हुन्न भन्ने अर्कोतिर गएर प्रचण्डलाई छोड्न हुन्न यो बेला भन्ने पनि बुझिएको छ’, माडीमा कार्यकर्ता भेलामा दाहालले भन्नुभयो, ‘तपाईंहरू त्यस्तोमा नलाग्दिनुहोला, हामी जित्छौं ।’
यद्यपी उहाले त्यस्तो शक्ति को हो भनेर चाँही खुलाउनु भएन् । तर, उहाले पार्टीभित्रकै केही शक्ति त्यस्तो रहेको भनेर चाँही इसारा गर्नुभएको छ । उहाले केही समय अगाडी आफूले हतार गर्न खोजेको भए दुर्घटना वा अर्को के हुन्थ्यो भन्न सक्ने अवस्था नरहेको पनि स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीसँग पटक पटक ‘वान टू वान’ वार्ता गर्नुभएका उहाले चितवन पुगेर त्यस्ता शक्ति सक्रिय रहेको खुलाउनु भएको हो । ‘अहिलेको क्राइसिस तपाईंहरूले पनि पक्कै महसुस गर्नुभएको छ । तर, जतिसुकै अप्ठ्यारो भए पनि हल निस्कन्छ,’ दाहालले भन्नुभयो, ‘अर्का अध्यक्ष तथा प्रधानमन्त्रीसँग पछिल्लो पटक भएका कुराको संकेत पनि हल गर्नुपर्छ भन्नेतिर नै छ ।’
उहाले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरेर राजनीतिक स्थायित्व, विकास र समृद्धिको उद्देश्य राखेकाले पार्टी एकतालाई बचाउन आफूहरूले भरमग्दुर प्रयास जारी राखेको बताउनु भयो । ‘हामी हतारमा केही कुरा गरेर भोलि फुर्सदमा पछुताउने अवस्था नआओस् भन्नेमा सतर्क छौं । म पार्टीको अध्यक्ष र तपाईंको जनप्रतिनिधिको हैसियतले देश दुर्घटनामा जाने या पार्टी दुर्घटनामा जाने कुनै पनि गतिविधि हुन नदिनका निम्ति अन्तिम समयसम्म धैर्यपूर्वक पहल गर्ने विश्वास तपाईंहरूलाई दिलाउँछु,’ दाहालको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्