जनता टाइम्स

१० जेष्ठ २०७६, शुक्रबार १३:०९

आजको मौसम : मेघ गर्जन र हावाहुरीसहित वर्षा


काठमाडौं, जेठ १०

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । पूर्वमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले मेघ गर्जन र हावाहुरीसहित वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो ।

उहाँका अनुसार अहिले पश्चिमी क्षेत्रमा पश्चिमी वायु र मध्य तथा पहाडी भूभागमा न्यूनचापीय प्रणालीले प्रभाव पारिरहेको छ । प्रिमनसुनको समय भएकाले यो गतिविधि लामो समयसम्म कायम रहन सक्दैन । राति देशका मध्य र पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्रका केही स्थानमा हावाहुरीसहित हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शनिबार देशका अधिकांश स्थानमा आंशिक बदली रही अपराह्नपछि पश्चिमी र मध्य भूभागका एक दुई स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ । आइतबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई देशका पूर्वी भूभागका केही स्थानमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३० दशमलव शून्य सेल्सियस छ । आज सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ४२ दशमलव शून्य डिग्री सेल्सियस मापन गरिएको छ ।