जनता टाइम्स

१० जेष्ठ २०७६, शुक्रबार १७:०२

सगरमाथा उचाई मापन टोलीले यसरी बितायो चुचुरोमा एक घण्टा सोह्र मिनेट


काठमाडौं, जेठ १०

बिश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाई मापन गर्न गएको सरकारी टोली आफ्नो काम सम्पन्न गरी काठमाडौं फर्किएको छ । नेपाल सरकारका तर्फबाट आफ्नै स्रोत सानधनमा सगरमाथाको उचाइ मापन गर्न गएको नापी विभागको टोली जेष्ठ ८ गते बिहान ३ बजे सगरमाथाको चुचुरोमा पुग्न सफल भएको थियो ।

सगरमाथाको आरोहण गरेर फर्किएको सरकारी टोलीलाई आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आज स्वागतसहित बधाई दिनुभयो । मन्त्रालयमै पत्रकार सम्मेलन गरी मन्त्री अर्याल, मन्त्रालयका सचिव गोपिनाथ मैनाली, नापी विभागका महानिर्देशक प्रकाश जोशीलगायतले सगरमाथाको उचाई मापनका निम्ती सगरमाथाको आरोहण गरेर फर्किएको प्रमुख नापी अधिकृत उपसचिव खीमलाल गौतम नेतृत्वको टोलीलाई फुलमाला र टिकाले स्वागत गर्नुभयो । त्यस अवसरमा सगरमाथाको सफल आरोहणको उपलक्ष्यमा मन्त्री अर्यालले टोलीका सबै सदस्यहरूलाई मिठाइ खुवाएर खुसी बाँड्नुभएको थियो ।

त्यस अवसरमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सरकारले पहिलो पटक आफ्नै साधान स्रोतमा सगरमाथाको उचाइ मापन गर्ने कार्य गरेको भन्दै यो सबैका लागि गौरवको बिषय बनेको बताउनु भयो । ‘अहिलेसम्म सगरमाथाको उचाई आफ्नै पहल तथा लगानीमा नेपाल सरकारले गरेको थिएन । विभिन्न देशहरूले विभिन्न समयमा गरेका थिए,’ मन्त्री अर्यालले भन्नुभयो, ‘यसपाली सरकारले आफ्नै स्रोतसाधनमा आफ्नै लगानीमा गरेको छ । यो हामी सबैका निम्ती गौरवको कुरा हो ।’

मन्त्री अर्यालले आरोहणको महत्वपूर्ण काम सम्पन्न गरेपनि ६ महिनाभित्र नेपाल आफैंले मापन गरेको सगरमाथाको वास्तविक उचाई प्राप्त हुने बताउनु भयो । गएको चैत २७ गते सगरमाथाको उचाइ मापनका लागि नापी विभागका प्रमुख नापी अधिकृत उपसचिव खिमलाल गौतम नेतृत्वको टोली सगरमाथातर्फ प्रस्थान गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री अर्यालको शुभकामना लिएर गएको टोलीलाई वैशाख २८ गते भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले सगरमाथाको आधार शिविर (बेसक्याम्प) मै पुगेर थप हौसला प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा सगरमाथा आरोहणका बारेमा जानकारी दिँदै टोलीका संयोजक विभागका प्रमुख नापी अधिकृत गौतमले निकै कष्टपूर्ण तरिकाले राज्यले दिएको जिम्मेवारी पूरा गरेर फर्किएको जानकारी दिनुभयो । जेष्ठ ८ गतेका दिन बिहान ३ बजे सगरमाथाको चुचुरोमा पुगेर आफ्नो टोली १ घन्टा १६ मिनेट सगरमाथाको चुचुरोमा मापन कार्य गरेर बिताएको जानकारी पनि दिनुभयो । ‘त्यहाँ हामीले पुगेर काम पनि गर्नुपर्ने थियो । त्यसैले त्यहाँ अब्जरभेसनका सन्दर्भमा एक घण्टा १६ मिनेट चुचुरोमा बितायौं, जुन निकै गाह्रो काम पनि थियो,’ गौतमले भन्नुभयो ।

फर्कने क्रममा निकै कष्टसमेत ब्यहोर्नुपरेको सरकारी प्राविधिक टोलीलाई गाइड गरिरहेको पिक प्रमोशन प्रालीका टोली प्रमुख छिरिङ जाङ्बु शेर्पाले बताउनुभयो । ठूलो जोखिमका बावजुद सकुशल फर्किन सफल भएको उहाँले बताउनुभयो । टोलीमा सहभागी एक जनाको अक्शिजन सकिएका कारण धेरै समस्या परेको उहाँले बताउनुभयो । तर आफु २० वर्षदेखि गाइडको कार्यमा खटिरहेका कारण टोलीलाई कुशलतापूर्वक आरोहण र अवतरण गराउन सफल भएको उहाँको भनाइ थियो ।

प्रमुख नापी अधिकृत गौतमको नेतृत्वमा नापी अधिकृत रविन कार्की, सर्वेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धितालले सगरमाथाको उचाई मापन गर्न जानुभएको थियो । जसमध्ये भण्डारी र धितालले वेशक्याम्पमा बसेर सम्पर्क शुत्रको काम गर्नुएभएको थियो भने प्रमुख गौतम र कार्कीले सगरमाथाको चुचुरोमै पुगेर उचाइ मापनको कार्य गर्नुभएको थियो । यता पिक पर्मोशन प्रालीका छिरिङ जाङ्बु शेर्पाको नेतृत्वमा पेमा ङिमा शेर्पाले प्राविधिक कर्मचारी टोलीलाई चुचुरोसम्मै पुर्याउन मद्दत गर्नुभएको थियो । आङ्बु शेर्पा, आङ पासाङ शेर्पा र केशव पौडेलले व्यवस्थापनको काम गर्नुभएको थियो ।

आरोहणका क्रममा बेलैमा उद्दार नभएको भए ज्यानै ज्यान गुमाउने सम्भावना रहेको समेत त्यस सन्दर्भमा आरोहण टोलीले बताएको थियो । कार्यक्रममा मन्त्री अर्यालले आरोहणको महत्वपुर्ण कामबाट फर्किएपछि अब प्राविधिक काममा अगाडि बढ्ने जानकारी दिनुभयो । २०७२ सालको भूकम्पपछि सगरमाथाको उचाइमा घटबढ भएको हुनसक्ने विषयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कुरा उठेपछि त्यो विषयलाई मध्यनजर गर्दै नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले आफ्नै स्रोतसाधनबाट सगरमाथाको उचाई मापन कार्य अगाडि बढाएको हो ।

राष्ट्रिय गौरव र अन्तराष्ट्रिय चासोको रूपमा रहेको सगरमाथाको उचाई मापन कार्य परम्परागत विधि (समतल नापी) तथा आधुनिक विधि (जिएनएसएस) एवं स्थलगत भू–आकर्षण सर्वेक्षण) जस्ता विधि अवलम्बन गरिएको बताइएको छ । सगरमाथाको सफल आरोहण भई तथ्यांक संकलन भइसकेको र अन्य स्थलगत सर्भेक्षणबाट तथ्यांकहरू प्राप्त हुने क्रममा रहेकोले सम्पुर्ण तथ्यांकहरू प्राप्त भएपश्चात तथ्यांकहरूलाई प्रशोधन गरी परिशुद्ध उचाई विश्वसामु प्रस्तुत गर्न नापी विभाग सक्षम रहेको जानकारी दिइएको छ ।

सगरमाथा मापनसम्बन्धी केही तथ्यहरू

१. नेपालले पहिलोपटक आफ्नै स्रोत साधनको प्रयोगमा सगरमाथाको उचाई मापन गर्न गइरहेको छ ।
२. संसारको सबैभन्दा अग्लो चुचुरोको उचाई करिब १७० वर्षअघि मापन भएको तर यो वर्ष हामी मापन गर्दैछौं ।
३. सन् २००५ मा चिनले नेशनल ब्युरो अफ सर्भेइङ एण्ड म्यापिङले ८८४४.४३ मिटर उचाई मापन गर्यो ।
४. अमेरिकाले सन् २००० मा ८८५० मिटर उचाई रहेको उल्लेख गर्यो ।
५. ईटालियनले सन् १९९२ मा ८८४८.६५ मिटर उचाई मापन गर्यो ।
६. सन् १९७५ मा चिनले ८८४८.१३ मिटर मापन गर्योा ।

७. सन् १९५४ मा सर्भे अफ इण्डियाले ८८४८ मिटरको उचाई मापन गर्यो । र हामीले अहिलेसम्म यसैलाई आधिकारिक उचाई पनि मान्दै आएका छौं ।
८. सन् १८४९ मा ब्रिटिस सर्भे अफ इण्डियाले ८८४०.५० मिटर उचाई मापन गर्यो । तर त्यतिबेला पुरानो प्रविधिको प्रयोग भएको थियो ।
९. नापी विभागले २०७२ सालमा भूकम्प गएपछि नगरकोट, चन्द्रकोट, फुल्चोकी लगायत काठमाडौं वरिपरिका डांडाहरूलाई आधार मानेर सर्भे गर्दा ०.९१ मिटर करिब १.०० मिटर उचाई बढेको पाइयो ।
१०. वि.सं. २०७२ सालको भुकम्पका बेला सगरमाथा बेश क्याम्पमै १२ जनाको मृत्यु भयो ।
११. संसारभर यतिबेला सगरमाथाको उचाईको विषयलाई लिएर विभिन्न प्रश्न उठेका छन् ।
१२. यसै सन्दर्भमा भारतले यसको पछिल्लो उचाई मापन गर्ने इच्क्षा व्यक्त गर्योस । त्यति नै बेला नेपालले नाकाबन्दीको सास्ती खेप्नुपर्योप ।
१३. त्यसपछि नेपाल सरकार आफैले सगरमाथाको उचाई मापन गर्ने भनेर घोषणा गर्यो । फलस्वरूप आज हामी आफैले सगरमाथाको उचाई आफैले मापन गर्दैछौं ।
१४. यसै सन्दर्भमा संसरभारका विभिन्न राष्ट्रका नाप नक्सा सम्बन्धी वैज्ञानिकहरूको अन्तराष्ट्रिय कार्यशालको सुझाबअनुसार सगरमाथाको उचाई जिएनएसएस प्रविधिलाई नाप्ने निर्णय भयो । (ईटालियन, चाईनिज, ईण्डियन, अमेरिकन, न्यूजिल्याण्ड, जापान सहितका नौ देशहरू)