जनता टाइम्स

२९ असार २०७७, सोमबार १८:३१

प्रत्येक वडामा यसरी पुग्दैछ नेपाल टेलिकमको वाईफाई


काठमाडौं, असार २९

नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने तयारी शुरु गरेको छ । टेलिकमले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको हो ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले आर्थिक वर्ष २०७७–७८ को वार्षिक कार्यक्रममै समेटेर वाईफाई सुविधा विस्तार गर्ने काम अगाडि बढाइएको बताउनु भयो । वडामा रहेका टेलिकमको बीटीएस टावरमार्फत विशेष ‘डिभाइस’को प्रयोग गरेर वाईफाई सुविधा उपलब्ध गराउने टेलिकमको योजना छ । टेलिकमलाई उपलब्ध आठ सय र १८ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी प्रयोग गरेर वाईफाई उपलब्ध गराइने कम्पनीका इन्जिनियर अमृत नेपालले जानकारी दिनुभयो । टेलिकमले वाईफाईसँगै फिक्स्ड टेलिफोन सेवा पनि समाहित गरेर उपलब्ध गराउने तयारी गरेको छ ।

उहाले भन्नुभयो,’संस्थागत प्रयोगकर्तालाई फिक्स्ड टेलिफोन उत्तिकै आवश्यक र महत्वपूर्ण हुने भएकाले यससँगै त्यो सुविधा पनि हुनेछ ।’ टेलिकमले आफ्ना संस्थागत प्रयोगकर्तालाई उपलब्ध गराउने डिभाइसमा टेलिफोनको छुट्टै पोर्ट हुनेछ । त्यसैमार्फत सामान्य टेलिफोनमा जोडेर कुराकानीका लागि प्रयोग गर्न सकिने छ । उक्त डिभाइसमा सिमकार्ड प्रयोग हुनेछ । यद्यपि त्यसको नम्बर भने टेलिकमले अहिले जिल्लाअनुसार उपलब्ध गराइरहेको कोडबाट सुरु हुनेछ ।