जनता टाइम्स

३१ असार २०७७, बुधबार १६:३४

ओली–प्रचण्डले पहिचान गरे एकता भाँडन खोज्ने तत्व


अव एकले अर्काबिरुद्ध गुटबन्दी गर्ने समुहको कुरा नसुन्ने र पार्टी एकता गर्दा भएको सहमति र पछिल्लो कार्यबिभाजनलाई नै मुल आधार मानेर निकास दिनेमा दुवै अध्यक्ष सहमत हुनुभएको छ, सचिवालयकै केही नेताहरुले अध्यक्षद्वयको सहमति मान्दिन भन्दै भाषण गर्न थालेकोले सम्झाउन र परिपक्को निर्णय लिन केही समय लिएको हो

यसिमा महत/काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच आज भएको बार्ता निश्कर्षउन्मुख पुगेको छ ।

पार्टीभित्र देखिएको आन्तरिक विवाद सल्टाउनका लागि छलफलमा जुटनुभएका अध्यक्षद्वय ओली र प्रचण्डबीच भएको आजको बार्तामा लगभग सहमतिको खाका जुटेको र थप गृहकार्यसहित अर्को छलफलमा निश्कर्ष निकाल्ने गरी गृहकार्य अघि बढेको दुवै अध्यक्ष निकट नेताहरुले जनताटाइम्सलाई जानकारी दिएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको बार्तामा पार्टी एकता गर्दा तय गरिएको आधार र पछिल्लो पटक सचिवालयले गरेको कार्यबिभाजनमा केन्द्रित रहेको थियो ।

नियुक्तिमा भागबण्डा चाहिने र परिवारका सदस्यलाई आफूहरुले भनेअनुसार सरकारले स्थान दिनुपर्ने माग अस्वीकार गरेपछि केही नेताहरुले अध्यक्ष तथा प्रधानमन्त्री ओलीबिरुद्ध गरेको गुटबन्दीलाई अर्का अध्यक्ष प्रचण्डले साथ दिएपछि नेकपाभित्र संकट देखिएको थियो । पछिल्लो पटक स्थायी कमिटी बैठक स्थगित गरेर छलफलमा जुटनुभएका दुवै अध्यक्षबीच यस बिषयमा लगगभ सहमति जुटेको छ । ‘अव एकले अर्काबिरुद्ध गुटबन्दी गर्ने समुहको कुरा नसुन्ने र पार्टी एकता गर्दा भएको सहमति र पछिल्लो कार्यबिभाजनलाई नै मुल आधार मानेर निकास दिनेमा दुवै अध्यक्ष सहमत हुनुभएको छ, सचिवालयकै केही नेताहरुले अध्यक्षद्वयको सहमति मान्दिन भन्दै भाषण गर्न थालेकोले सम्झाउन र परिपक्क निर्णय लिन केही समय लिएको हो,’ अध्यक्ष ओली र प्रचण्ड निकट स्थायी कमिटीका नेताहरुले जनताटाइम्ससँग भने ।

नेकपाभित्रको बिवादको थालनी गर्दै ओलीलाई दुवै पदबाट हटाउने भन्दै अध्यक्ष प्रचण्डसँग बिलय भएको बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समुहले दुई अध्यक्षबीच हुने सहमति नमान्ने सार्वजनिक घोषणा गरिसकेको छ । तर दोस्रो पुस्ताका चुनाव हारेका बाहेकका अधिकांश नेताहरु दुई अध्यक्षबीच नै सहमति हुनुपर्ने पक्षमा उभिएपछि सो समूहले चिसै पानीले नुहाउने अवस्था बनेको छ । नेकपाभित्र बिवाद मिलाउन लागेका ११ जना स्थायी कमिटी सदस्यहरुले ओली र प्रचण्डबीचको सहमतिबाट मात्रै पार्टी अघि बढन सक्ने भन्दै सहमतिका लागि मध्यस्थताको भुमिका खेलेको छ ।

दुई अध्यक्षबीच छलफल जारी रहँदा नेकपाको स्थायी कमिटीमा कुनै पनि पक्षको बहुमत नरहेको तथ्य स्वयं नेताहरुले खोलिसकेका छन । पछिल्लो छलफलमा अध्यक्षद्वय ओली र प्रचण्डले यस बिषयमा समेत गहन छलफल गर्नुभएको र सवैको चाहना आफूहरु मिल्नुपर्ने भन्ने रहेकोले एकले अर्काबिरुद्ध षडयन्त्र गर्ने समुहलाई साथ नदिने निश्कर्ष सुनाउनु भएको छ । अध्यक्षद्वयको सहमति मान्दिन भन्नेहरुको योजना पार्टी फुटाउने रहेको प्रष्टै देखिन्छ भन्ने साझा निश्कर्षमा दुवै अध्यक्ष पुग्नुभएको छ, त्यसैले अव पार्टीको बिवाद लगभग समाधानको बिन्दुमा छ,’ बैठकको निश्कर्ष सुनाउँदै प्रचण्ड निकट एक नेताले भने ।

भारतले लामो समयदेखि अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा जारी भएपछि नेकपाभित्र खासगरी पूर्वएमाले समुह जसरी पनि प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई हटाउनु पर्ने अभियानमा छ । सो समुहले प्रधानमन्त्री ओलीले नेपालको हितमा कदम चाल्दासमेत अन्टसन्ट बक्तब्य दिने र भारतकै पक्षमा आफूलाई उभ्याएर ओलीबिरुद्ध खनिने काम पछिल्लो समय झनै बढाएको छ । यो घटनाले पनि अध्यक्ष प्रचण्ड पार्टी फुटाउन चाहनेहरुको योजना बिफल बनाउनु पर्ने निश्कर्षमा पुग्नुभएको ती नेताले बताए ।

ती नेताका अनुसार आजसम्मको बार्तामा दुई अध्यक्षबीच खुलस्त कुराकानी भएको र एकअर्कामाथि शंका गर्ने अवस्थाको अन्त्य भएको छ । स्रोतका अनुसार आजको बार्तामा आफूहरुलाई भिडाएर पार्टी नै बिभाजन गर्ने योजना बनाउनेहरुको पहिचानसमेत गर्नुभएको छ । दुई अध्यक्ष मिल्न नदिने, यताको कुरा उता, उताका कुरा यता लगाएर पार्टी नै फुटाउनेसम्मको गम्भीर षडयन्त्रमा लागेकाहरुको पनि पहिचान गर्नुभएको छ,’ ती नेताको भनाई छ ।

दुई अध्यक्षबीचको छलफलमा राष्ट्रपतिबिरुद्ध खनिने पार्टीभित्रकै समुह, अध्यक्षबीचको सहमति मान्दिन भन्ने समुह र भिडाउने, लडाउने समुहको बारेमा समेत छलफल गरी सतर्कताका साथ एकता जोगाएर अघि बढने निश्कर्षसमेत निकालिएको ती नेताको भनाई छ

पछिल्लो पटक अध्यक्ष प्रचण्डले गृहजिल्ला चितवनमा आफूहरु (ओली–प्रचण्ड) लाई मिल्न नदिन बिभिन्न षडयन्त्रहरु भइरहेको खुलासा गर्दै एकता भाँडनेहरुको कुरा सुनुवाई नहुने घोषणा गर्नुभएको थियो । सचिवालयकै नेताहरु खुलेआम दुई अध्यक्ष भिडाउन लागेको बेला अध्यक्ष प्रचण्डले यस्तो खुलासा गरेपछि अध्यक्षद्वयको बार्तामा माथिदेखि तलसम्म एकता भाँडन लाग्नेहरुको पहिचान गरिएको स्रोतले बतायो । यसैगरी दुई अध्यक्षबीचको छलफलमा राष्ट्रपतिबिरुद्ध खनिने पार्टीभित्रकै समुह, अध्यक्षबीचको सहमति मान्दिन भन्ने समुह र भिडाउने, लडाउने समुहको बारेमा समेत छलफल गरी सतर्कताका साथ एकता जोगाएर अघि बढने निश्कर्षसमेत निकालिएको ती नेताको भनाई छ ।