अन्य प्रधानमन्त्री जस्तो होइनन केपी ओली, उँहालाई सम्पूर्ण शास्त्र, तन्त्र, रामायण, महाभारत, गीता सबै कण्ड छ, कुनै पनि पण्डितले प्रधानमन्त्री ओलीसँग गएर प्रतिवाद गर्न सक्दैन।कुनै पनि इन्जिनियरले, मेडिकल डाक्टरले उहाँसँग वहश गर्न सक्दैन
काठमाडौं, साउन १ । इतिहासविद एवं नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले राम जन्मभूमिको बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको अभिब्यक्ति सही रहेको ठोकुवा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भानु जयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा भगवान रामको जन्म भूमि अयोध्या नेपालमै रहेको अभिव्यक्ति दिनुभएको थियो । नेपालकै कतिपय राष्ट्रवादी नेताहरु भारतको पक्षमा लागेर प्रधानमन्त्रीबिरुद्ध खनिएकै बेला गुरुङले यस्तो निश्कर्ष सुनाउनु भएको हो ।
उपकुलपति डा. गुरुङले भानु जयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले दिनुभएको अभिव्यक्ति प्राज्ञिक वहशको विषय भएको बताउनु भयो । ‘प्रधानमन्त्रीले अयोध्या र रामका विषयमा दिनु भएको अभिव्यक्ति सही छ, उहाँले कुनै मित्रलाई चिढ्याउन वा कुनै मित्रराष्ट्र सँगको सम्बन्ध बिगार्न दिनु भएको होइन,’ गुरुङले भन्नुभयो, ‘नेपालमा राम र अयोध्याका विषयमा धेरै अध्ययन भएका छैनन्। भारतमा यो विषयमा धेरै अध्ययन भएका छन्। ती अध्ययनले पनि अयोध्याका विषयमा विवादित निष्कर्ष निकालेका छन्।’
डा. गुरुङले वर्तमान प्रधानमन्त्री ओली यसअघिका अन्य प्रधानमन्त्री भन्दा फरक रहेको भन्दै मुलुकको हितमा बोल्दा आलोचना हुनुको अर्थ नबुझेको भन्दै कडा ब्यंग्य गर्नुभयो । ‘अन्य प्रधानमन्त्री जस्तो होइनन केपी ओली, उँहालाई सम्पूर्ण शास्त्र, तन्त्र, रामायण, महाभारत, गीता सबै कण्ड छ, कुनै पनि पण्डितले प्रधानमन्त्री ओलीसँग गएर प्रतिवाद गर्न सक्दैन।कुनै पनि इन्जिनियरले, मेडिकल डाक्टरले उहाँसँग वहश गर्न सक्दैन।’
यति धेरै ज्ञान भएको प्रधानमन्त्रीले दिने अभिव्यक्तिमा सत्यता हुने उहाँको ठहर छ । ‘भारतले जे भने पनि हामीले सहने, त्यसको प्रतिवाद नगर्ने तर, प्रधानमन्त्रीले एउटा कुरा भन्दैमा बबण्डर मच्चिने ?,’ गुरुङले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्