जनता टाइम्स

१ श्रावण २०७७, बिहीबार १५:२१

प्रचण्ड–माधवको त्यो कुराले भाँडियो सहमति


काठमाडौं, साउन १ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बिवाद फेरि बल्झिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच भएको सहमतिलाई बरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरेपछि दुई अध्यक्षबीच भएको सहमतिको साटो प्रधानमन्त्री पदबाट राजीनामा दिनैपर्ने मुद्दामा पुगेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको अध्यक्षद्वय ओली, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफलमा फेरि प्रधानमन्त्री पद छाडनुपर्ने प्रस्ताव आएपछि कुरा बिग्रिएको हो । ‘प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ भन्ने कुरा प्रचण्ड र माधव नेपालले राख्नुभयो, अध्यक्ष ओलीले पार्टी एकता गर्दा कायम रहेको अध्यक्ष र प्रधानमन्त्री पद त्याग्ने कुरा संभव छैन भन्ने यथार्थ राख्नुभयो,’ भेटबार्ताको निश्कर्ष सुनाउँदै नेकपाका एक नेताले जनताटाइम्ससँग भने । अध्यक्ष प्रचण्ड नेता नेपालसहित अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग बार्ता गर्न प्रधानमन्त्री निवास बालुवाटारमा पुग्नुभएको थियो ।

बुधवारसम्मको भेटमा पार्टी एकता गर्दा भएको सहमति र सचिवालयको कार्यबिभाजनअनुसार अध्यक्ष र प्रधानमन्त्री पद चलाउन नमिल्ने तथ्य आफूले बुझेको भन्दै सहमति जनाउनु भएका अध्यक्ष प्रचण्डले आज एकाएक कुरा फेर्नुभएपछि बिवाद पुरानै ठाउँमा पुगेको ती नेताले जानकारी दिए । सोही अडानका कारण तीन नेता र त्यसपछि दुई अध्यक्षबीचको बार्ता निश्कर्षबिहीन बनेको छ । आजको छलफलमा बरिष्ठ नेता माधवकुमार नेपालसँगै महासचिव विष्णु पौडेल पनि सहभागी हुनुभएको थियो भने अन्तिममा दुई अध्यक्षबीच पुनः बार्ता भएको हो ।

सरकारले लामो समयदेखि भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि भारत प्रधानमन्त्री ओलीलाई जसरी पनि हटाउने योजनाका साथ नेपालमा आफ्नो जासुसी संयन्त्र परिचालन गर्दै आएको छ । पछिल्लो समय भारतले नेकपाभित्रै प्रवेश गरेर प्रधानमन्त्रीबिरुद्ध गुटबन्दी गर्न नेताहरुलाई उचालिरहेको छ । प्रधानमन्त्रीबाट ओलीलाई हटाउन नसके नेकपा नै बिभाजन गर्ने भारतको योजना रहेको छ । सोही योजनाअनुसार नेकपाभित्र प्रधानमन्त्रीबिरुद्ध घेरावन्दीमा खुलेयाम रुपमा भारतले सचिवालयकै नेताहरुलाई उचालिरहेको छ ।

भारतकै योजनामा राष्ट्रपतिबिरुद्ध महाअभियोग लगाउने बिषयमा समेत नेकपाकै नेताहरुले कानुन ब्यवसायीसँग छलफल गरेको तथ्य खुलिसकेको छ । यद्यपी सो छलफल अत्यन्तै हानिकारक बनेपछि अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल शीतलनिवासमै पुगेर प्रष्टिकरण दिनुपरेको छ । आजको छलफल अघि सचिवालयमा रहेको आफ्ना गुटका नेतासँग परामर्श गर्नुभएको अध्यक्ष प्रचण्डले पुनः प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने अडान राख्नुभएको हो । दुई अध्यक्षबीच बिवाद समाधानका लागि ठोश निश्कर्ष नआए पनि भोलि साउन २ गतेका लागि तय गरिएको स्थायी कमिटी बैठक भने बस्ने सहमति भएको छ । सहमतिका लागि बैठकअघि शुक्रवार बिहान दुई अध्यक्षबीच बार्ता हुने तय भएको छ ।

गत असार १८ गतेदेखि नेकपाको स्थायी समिति बैठक बस्न सकेको छैन । सहमतिका लागि भन्दै पटक पटक स्थगित भएको स्थायी समिति बैठक पछिल्लो पटक सात दिनका लागि स्थगित भएको थियो । पार्टी स्थायी समिति बैठक रोकेर विगत १३ दिनयता दुई अध्यक्षले सातपटक सम्वाद गरे पनि समाधानको सूत्र फेला पार्न सक्नुभएको छैन ।