जनता टाइम्स

४ श्रावण २०७७, आईतवार ०८:१८

काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा लगातार वर्षा : यस्तो छ आगामी तीन दिनको मौसम


काठमाडौं, साउन ४ । काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा १२ घण्टादेखि निरन्तर वर्षा भइरहेको जल तथा मौसम बिज्ञान बिभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार बागमती, गण्डकी, ५ नम्बर र कर्णाली प्रदेशलगायत देशका धेरै स्थानमा अहिले हल्कादेखि मध्यम स्तरको वर्षा भइरहेको छ। शनिवार साँझ ६ बजे सुरु भएको हो, केहीबेर रोकिएजस्तो भए पनि रातिदेखि वर्षा भइरहेको छ, यो क्रम बिहानभर नै रहने देखिन्छ, दिउँसो केहीबेर थामिए पनि पुनः वर्षा हुने सम्भावना छ,’ मौसमविद् पौडेलले भन्नुभयो । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो धेरै ठाउँमा हल्कादेखि मध्यमसम्म तथा प्रदेश २, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही र प्रदेश १ र ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति पनि यो क्रम जारी रहने जनाइएको छ।

‘मनसुन सक्रिय हुँदै गएको छ, यसअघि बिहान एक–दुई घण्टा घाम पनि लाग्ने गरेको थियो भने अब बिहानैदेखि वर्षा हुने हुन्छ, दिउँसो केहीबेर रोकिए पनि वर्षा भइरहन्छ, अझ कतिपय ठाउँमा रोकिँदै नरोकिने पनि हुन सक्छ,’ मौसमविद पौडेलले भन्नुभयो । जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत अन्य सम्बन्धित निकायले आज साउन ४ गतेदेखि ८ गतेसम्म देशभर व्यापक वर्षा हुने सम्भावना रहेकाले आम नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गर्दै केही दिनदेखि नै सूचना जारी गर्दै आएको छ ।

मौसविद्का अनुसार नेपालदेखि केही दक्षिण रहेको मनसुनको न्यून चापीय रेखा आज रातिदेखि उत्तरतर्फ सर्ने अर्थात् नेपालतर्फ नजिकिने भएकाले चार–पाँच दिन देशभर लगातार र अलि ठूलै वर्षा हुने भएको हो।

यस्तो छ आगामी तीन दिनको मौसम

साउन ४ गते आइतबार

दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा साथै प्रदेश १ र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

रातिः देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा साथै प्रदेश १ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

साउन ५ गते सोमबार

दिउँसोः देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

रातिः देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेश केही स्थानमा र गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

साउन ६ गते मंगलबार
दिउँसोः देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

रातिः देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।