काठमाडौं, साउन ५
नेपाल टेलिकमले संघीयसंरचना अनुसार कम्पनीको संरचना परिवर्तन गर्ने कार्यको शुरु गरेको जनाएको छ । नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले हिजो निकाल्नुभएको प्रेस विज्ञप्तिमा देशका सात वटै प्रदेशमा प्रादेशिक निर्देशनालयको स्थापना गर्ने भएको हो । कम्पनी सञ्चालक समितिले ०७६ मंसिर १९ मा गरेको निर्णय बमोजिम मुलुकको संघीय संरचना अनुसार कम्पनीको संरचना परिवर्तन गर्ने कार्य शुरु गरेको पनि उल्लेख गरेको छ ।
मुलुकको संरचना बमोजिम कामकाज गर्न सहज हुनेगरी नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, विराटनगर प्रदेश नं.१, प्रादेशिक निर्देशनालय, वीरगञ्ज प्रदेश नं. २, प्रादेशिक निर्देशनालय, काठमाडौ वागमती प्रदेश, प्रादेशिक निर्देशनालय, पोखरा गण्डकी प्रदेश, प्रादेशिक निर्देशनालय, भैरहवा प्रदेश नं. ५, प्रादेशिक निर्देशनालय, सुर्खेत कर्णाली प्रदेश र प्रादेशिक निर्देशनालय अत्तरिया, सुदूरपश्चिम प्रदेशको स्थापना गर्ने निर्णय गरिसकेको जनाइएको छ ।
साविक नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय र हाल नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवा, प्रदेश नम्बर ५ का निर्देशक सूर्यनारायण मालाकारले नयाँ प्रादेशिक निर्देशनालयका रुपमा प्रादेशिक निर्देशनालय, पोखरा गण्डकी प्रदेशको शुभारम्भ गर्नुभएको पनि जनकारी दिइएको छ ।
यस बमोजिम कम्पनीले साविक पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय अन्तर्गत रहेको नेपाल टेलिकमको पोखरास्थित कार्यालयलाई संघीय संरचना अनुसार नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा, गण्डकी प्रदेशमा रुपान्तरण गरिएको छ । निर्देशक मालाकारले नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, पोखराका निर्देशक सुरेन्द्रमान सिंहलाई गण्डकी प्रदेशसँग सम्बन्धित विकास निर्माण, योजना र प्रशासनिक दस्तावेजहरु हस्तान्तरण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्