जनता टाइम्स

६ श्रावण २०७७, मंगलवार १४:४१

राष्ट्रपति भण्डारीलाई बदनाम गराउन रचिएको त्यो गम्भीर षड्यन्त्रको यसरी भयो पर्दाफास


काठमाडौं, साउन ६ । राष्ट्रपति बिद्यादेवी भण्डारीविरुद्ध अनर्गल प्रचार गराउन कतिसम्मका शक्ति लागिरहेका छन भने तथ्य बिस्तारै बाहिर आउन थालेको छ । राष्ट्रपति भण्डारीको बदनाम गराउन विभिन्न शक्तिकेन्द्र सँगसँगै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै कतिपय नेताहरु समेत संलग्न भएको तथ्य खुलेको हो ।

घटना अनुसार साउन ३ गते शनिवार नेकपा सचिवालयको बैठकपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिसँग भेट्न शितल निवास पुग्नुभयो । सत्तारुढ दलका नेता, त्यो पनि पूर्वप्रधानमन्त्रीसँग भेटवार्ता गर्नु राष्ट्रपतिका लागि कुनै नौलो विषय होइन । राजनीतिक संस्कारबाट हुर्किएको व्यक्तिले राजनीतिक दलका नेताहरु भेट्नुलाई लोकतन्त्रमा नौलो कुरा मानिदैन । सो भेटमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुभएको थियो ।

प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपति भण्डारीले त्यस दिन पार्टी भन्दा बाढी पहिरोको प्रकोपबाट जनतालाई बचाउन तत्काल पहलकदमी लिनुपर्ने आवश्यकताबारे सुझाव दिनुभएको थियो । पछिल्लो समय नेकपाभित्रको विवाद समाधानका लागि दुई अध्यक्षले पटक पटक प्रयास गरिरहनु भएको छ । तर, तेस्रो पक्ष मानिएको वरिष्ठ नेता माधवकुमार नेपाल भने दुई अध्यक्षको सहमति आफूलाई मान्य नहुने बताउदै आउनु भएको छ । शनिवार दुई अध्यक्षबीच लगभग सहमति बनेको छ । चाँडो भन्दा चाँडो महाधिवेशन गराउने विषयमा दुई नेता अध्यक्ष सहमति नजिक पुग्नु भएको छ ।

तर, आइतवार अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्न नेता नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित केही स्थायी कमिटी सदस्य खुमलटार पुग्नुभयो । सो गुटगत भेला सकिए लगत्तै नेकपाकै नेताहरुको कोड गर्दै भनाईहरु आए, ‘प्रचण्डलाई झुक्याएर शीतल निवास पुर्याइएको रहेछ । यतिसम्म समाचार आयो कि परिवन्दमा पारेर अध्यक्ष प्रचण्डलाई फसाउने काम गरिरहेको छ ।’

राष्ट्रपति भण्डारीलाई जसरी पनि विवादमा तान्नुपर्छ भन्ने एउटा तप्का नेकपाभित्रबाट लागिरहेको विषय त उल्लेख गर्नै पर्दैन । सोही तप्काबाट यस्तो समाचार आएको हुने सक्ने आशंका भएपनि कसैले केही भनेन । तर, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले नै सो विषयको तथ्य खोलिदिनु भएको छ । खुमलटार भेलामा सहभागी हुनुभएका प्रवक्ता श्रेष्ठको भनाईले नै राष्ट्रपतिको बदनाम गर्न नेकपाभित्रकै एउटा समुह योजनावद्ध रुपमा लागेको तथ्य खोलेको छ । खुमलटार भेला र प्रचारबारे प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘झुक्याएर लगिएको विषय सत्य होइन, जबज स्विकार गर्नुपर्यो भनी आएको कुरा पनि सत्य होइन् ।’

आजको स्थायी कमिटी बैठकपछि पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै श्रेष्ठले भन्नुभयो, ‘झुक्याएर लैजाने खालको उहा अध्यक्ष होइन, झुक्याएर कोही जाँदैन, झुक्याए कसैले लैजादैन ।’ त्यसो भए सत्य के हो त ? भन्ने अर्काे प्रश्न्मा उहाले भन्नुभयो, ‘सत्य त उहा जानु भएको हो, त्यो सत्य हो । तर झुक्याएर लगेको र झुक्याएर गएको भन्ने होइन ।’ प्रचण्डले तपाईहरुलाई त्यही बिफ्रिङ गरेको भन्ने कुरा छ नि ? भन्ने प्रश्नमा प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘भन्ने कुरा न छ, बिफ्रिङ गरेको होइन ।’

प्रवक्ता श्रेष्ठको यस भनाईले नेकपाभित्रको राजनीति कति हदसम्म तल्लो स्तरमा पुगेको छ र किन पटक पटक राष्ट्रपतिबिरुद्ध अफवाह फैलाइन्छ भन्ने तथ्यलाई राम्रैसँग उजागर गरेको छ ।