जनता टाइम्स

७ श्रावण २०७७, बुधबार १४:१४

प्रधानमन्त्रीकै साथमा उभिने लेखराज भट्टको घोषणा


काठमाडौं, साउन ७

नेकपा स्थायी कमिटीका सदस्य एंवम् मन्त्री लेखराज भट्टले आफ्नो पूर्ण साथ प्रधानमन्त्री केपी शर्मा ओलीलाई रहेको स्पष्ट पार्नुभएको छ । पार्टीमा देखिएको विवादमा लामो समय मौन बस्नु भएका उहाले मुलुकमा अस्थिरता उत्पन्न गराउनेलाई आफुले साथ नदिने घोषणा गर्नुभयो ।

बिबिसी नेपाली सेवालाई दिएको अन्तर्वार्तामा उहाले अध्यक्ष र प्रधानमन्त्रीबाट ओलीलाई हटाउन नहुने आफ्नो अडान रहेको बताउनु भयो । ‘प्रधानमन्त्रीलाई हटाइयो भने मुलुकमा अस्थिरता उत्पन्न हुन्छ, त्यसैले मेरो साथ प्रधानमन्त्रीलाई छ’, उहाले भन्नुभएको छ । अध्यक्षबाट दुई जनामध्ये जसलाई हटाएपनि त्यसले एकता भंग हुने उहाले चेतावनी दिनुभयो । ‘पार्टी महाधिवेशन नहुँदसम्म एकजना हस्ताक्षरकर्ता (अध्यक्ष) नरहे त एकता भङ्ग भइहाल्यो नि’, नेता भट्टको भनाई छ ।

सुदूरपश्चिम प्रदेशमा नेकपाका सशक्त नेताका रुपमा परिचित भट्टले विगतमा भएको निर्वाचन ओलीकै नेतृत्वमा भएकाले अहिले राजिनामा माग्न नहुने बताउनु भयो । ‘केपी ओलीकै नेतृत्वमा चुनाव लडेको हो, अहिले आफैले बनाएको प्रधानमन्त्रीलाई राजीनामा दे भन्न कति उपयुक्त हुन्छ भन्ने प्रचण्डकै लाइन हो, मेरो होइन’, उहाको भनाई छ ।

नेता भट्टले नेकपामा अहिले विवाद विचार, राजनीति र संगठनको नभई पद लेनदेनको मात्र भएको पनि स्पष्ट पार्नुभयो । ‘एउटै कुरा प्रधानमन्त्रीलाई हटाउनु पर्छ भन्ने मात्रै छ, किन हटाउने भन्ने नै छैन। खुद्रा कुरा गरेर त हुन्न नि’, उहाले स्पष्ट ढंगले भन्नुभयो । विगतका केन्द्रीय समिति लगायतका बैठकका दस्तावेजहरूमा सरकारका सकारात्मक कुराहरू लेखिएको बताउँदै उहाले लगत्तै प्रधानमन्त्री हटाउनु पर्ने भए कारण खुलाउनु पर्नेमा जोड दिनुभयो ।

उहाले अन्य नेताहरुलाई प्रश्न समेत गर्नुभएको छ । ‘त्यसो भए लिम्पियाधुरा नक्सामा ल्याउनु र संविधानको अनुसूची संशोधन गर्न हुन्थेन भन्नुपर्‍यो । कूटनीतिक नोट भारतलाई पठाउनु गलत थियो भन्नुपर्‍यो ?’ राजिनामा माग्ने नेताहरुसँग उहाको प्रश्न छ ।