जनता टाइम्स

८ श्रावण २०७७, बिहीबार १२:०२

प्रधानमन्त्रीको राजिनामाको माग आफ्नो नभएको उपाध्यक्ष गौतमको घोषणा


काठमाडौं, साउन ८

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामाको माग आफ्नो नभएको स्पष्ट पार्नुभएको छ । उहाले पार्टीभित्र राजिनामाको विषय प्रस्तावका रुपमा पनि नआएको स्पष्ट पार्नुभएको हो ।

प्राइम टेलिभिजनमा दिनुभएको अन्तर्वार्तामा उहाले आफुले कहिले पनि प्रधानमन्त्रीको राजिनामा माग नगरेको बताउनु भयो । ‘प्रधानमन्त्रीबाट राजिनामा दिने नदिने विषय उहाको हो’, उपाध्यक्ष गौतमले भन्नुभयो,‘मेरो माग अब छैन ।’ राजिनामा त अन्य नेताहरुले मागी रहनु भएको छ नि भन्ने प्रश्नमा उहाले भन्नुभयो,‘हैन कसैले पनि राजिनामा मागेको छैन । पार्टीभित्रको विषय हो बाहिर कसैले पनि मागेको छैन । हामीले प्रस्ताव बनाएर पनि प्रस्तुत गरेका छैनौं ।’

उपाध्यक्ष गौतमले पार्टी भित्र पनि यो विषय नबनेको बताउदै पार्टी भित्र विभिन्न विषयहरु आएको भने स्विकार गर्नुभयो । ‘विभिन्न विषयहरु आएकालाई अतिरञ्जित किसिमले मिडियामा आउने कामहरु भएका छन्’, उहाले भन्नुभयो,‘कतिपयले तपाईले स्वइच्छाले यो छोडिदिनुहोस् भनेर भन्नेसम्मको विषयबस्तु बनेको हो । हाम्रो पार्टीको एजेण्डा कहिल्यै पनि बनेको होइन् ।’ उहाले कुनै पनि नेताले पार्टीको एजेण्डा बनाएर ल्याउनु नभएको जानकारी दिनुभयो ।

उपाध्यक्ष गौतमले पार्टीको महाधिवेशन चैत महिना अगावै सम्पन्न हुने पनि जानकारी दिनुभयो । मंसिरमा महाधिवेशन हुन्छ त ? भन्ने प्रश्नमा उहाले चैत अगावै महाधिवेशन सम्पन्न भईसक्ने स्पष्ट पार्नुभयो । यद्यपी उहाले पार्टी विभाजनतर्फ नभई थप एकताबद्ध भएर आउने बताउनु भयो ।