जनता टाइम्स

११ जेष्ठ २०७६, शनिबार १४:३२

हाफ म्याराथनको उपाधि अनिश र विश्वरुपालाई


काठमाडौं, जेठ ११

कान्तिपुर हाफ म्याराथनको उपाधि अनिश थापा मगर र विश्वरुपा बुढाले हात पारेका छन् । कान्तिपुर पब्लिकेसनद्वारा शनिबार यहाँ आयोजित नवौं संस्करणको उक्त प्रतियोगिताअन्तर्गत पुरुष स्पर्धामा उपाधि हासिल गरेका अनिशले निर्धारित दुरी एक घण्टा आठ दशमलव चार मिनेटमा पूरा गरे । उपाधिसहित उहाँले रु ५० हजारसहित डुएटको स्कुटर प्राप्त गरे ।

त्यस्तै महिला स्पर्धामा प्रथम स्थान हासिल गर्नुभएका विश्वरुपाले निर्धारित दुरी एक घण्टा २३ मिनेट २८ सेकेण्डमा पूरा गर्नुभयो । उहाँले उपाधिसहित रु ५० हजार र डुएटको स्कुरट प्राप्त गर्नुभयो । सोही स्पर्धाको पुरुषतर्फ दुर्गा बुढा दोस्रो भए भने आर्मीका कृष्णा बस्नेत तेस्रो हुनुभयो । महिलातर्फ आर्मीकै सन्तोषी श्रेष्ठ दोस्रो तथा एपिएफकी बिना देसार तेस्रो बन्नुभयो ।

दोस्रो बनेका दुबै स्पर्धाका खेलाडीले जनही रु तीस हजार प्राप्त गरे भने तेस्रो स्थान हासिल गरेका खेलाडीले जनही रु बीस हजार प्राप्त गरे । सो हाफ म्याराथन थापाथलीबाट शुरु भई माइतीघर, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, कौशलटार, थिमि, सल्लाघारी चोकबाट फर्किएर सोही रुट हुँदै थापाथली आएर सम्पन्न भएको थियो । त्यस्तै ह्विलचेयरतर्फ पुरुषमा रामबहादुर तामाङ पहिलो, प्रेम विक दोस्रो र मोहनबहादुर बस्नेत तेस्रो हुनुभयो ।

महिला स्पर्धामा याम झाँक्री मगर पहिलो भइन् भने रजनी राई दोस्रो तथा बबिता थापा तेस्रो हुनुभयो । दुबै प्रतिस्पर्धामा पहिलो हुनेले जनही रु बीस हजार, दोस्रोले रु दश र तेस्रो हुने खेलाडीले रु पाँच हजार हात पारे । पाँच किलोमिटर कर्पोरेट एण्ड मिडियाअन्र्गत पुरुष स्पर्धामा राजेश खड्का पहिलो, अजय तामाङ दोस्रो र उत्तम श्रेष्ठ तेस्रो हुनुभयो । सोही स्पर्धाको महिलामा काजल बिष्ट पहिलो, जुनेली सुनार दोस्रो र सुनिता गौतम तेस्रो हुनुभयो ।

कर्पोरेटतर्फका विजेता खेलाडीले बैंककमा तीन रात र चार दिनको भ्रमण प्याकेज प्राप्त गरेका छन् भने दोस्रो हुनेले पोखरामा दुई रात र तीन दिनको घुम्ने प्याकेज तथा तेस्रो हुनेले माउन्टेन फ्लाइटको टिकट प्राप्त गरेका छन् । उक्त स्पर्धा थापाथलीबाट शुरु भई माइतीघर हुँदै सिभिल हस्पिटलबाट फर्केर पुनः सोही रुट फर्कंदै थापाथली पुगेर सम्पन्न भएको थियो । एकदिने उक्त प्रतियोगिताको उद्घाटन राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले एक कार्यक्रबीच गर्नुभएको थियो ।