काठमाडौं, साउन ८ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को निर्वाचन पुनः स्थगित भएको छ । आज बसेको महासंघको पदाधिकारी बैठकले यही साउन २५ र २६ गतेका लागि तोकिएको निर्वाचन स्थगित गरेको महासंघ अध्यक्ष भवानी राणाले जानकारी दिनुभयो ।
‘लकडाउन खुला गरे पनि सरकारले सभा, सम्मेलन, भोजभतेर नगर्नु भनेको छ,’ अध्यक्ष राणाले भन्नुभयो, ‘त्यसैले हामीले निर्वाचन स्थगित गर्ने निर्णय गरेका हौं ।’ सरकारले सभा, सम्मेलन गर्न पाइने सूचना जारी गरेमा त्यसको १५ दिनभित्र निर्वाचन गर्ने निर्णय भएको पनि अध्यक्ष राणाले जानकारी दिनुभएको छ । उहाँका अनुसार आजको बैठकमा पदाधिकारीहरु र आठ जना पूर्वअध्यक्षहरु सहभागी हुनुभएको थियो । सबैले सरकारको निर्णयलाई मान्नुपर्ने धारणा राखेपछि निर्वाचन स्थगितको निर्णय भएको हो । महासंघको वरिष्ठ अध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार अबको नेतृत्व हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा हुनुहुनेछ ।
भावी अध्यक्षका लागि हुने वरिष्ठ उपाध्यक्षका लागि हालका उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधानले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । महासंघको भावी नेतृत्व लिनका लागि ढकाल र प्रधानले पदाधिकारीमा प्यानलसहितको उम्मेद्वारी घोषणा गर्नुभएको हो । लकडाउनका कारण गत चैत्र २८ र २९ गतेका लागि तोकिएको निर्वाचन स्थगित भई साउन २५ र २६ गते तोकिएका थियो । असारमा अन्तिम साता महासंघले निर्वाचन साउन अन्तिममा गर्ने निर्णय गरे पनि आज पुनः स्थगित गर्ने निर्णय भएको हो ।
महासंघमा नयाँ कार्यकालका लागि चुनाव पनि हुन नसकेको र अध्यक्ष राणाको कार्यकाल सकिएको भन्दै निस्कृय बस्नुभएकोले निकै अप्ठ्यारो भइरहेको ब्यवसायीहरु बताउँछन । महासंघमा बरिष्ठ उपाध्यक्षको दुवै प्रत्यासीले चुनाव स्थगित भए पनि आफ्नो अभियान भने जारी राखेका छन ।
प्रतिक्रिया दिनुहोस्