जनता टाइम्स

९ श्रावण २०७७, शुक्रबार १३:३६

सकियो ओली–प्रचण्ड भेटबार्ता, यस्तो छ निश्कर्ष


काठमाडौं, साउन ९

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा अ‍ोली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ । पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा उहाहरुबीच निरन्तर छलफल चल्दै आएको छ ।

तीन दिनको अन्तरालपछि भएको दुई अध्यक्षबीचको वार्ता सकारात्मक रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई भेट्न अर्का अध्यक्ष प्रचण्ड शुक्रबार दिउँसो १२ बजे बालुवाटार पुग्नुभएको उहाँका प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटा ‘जुगल’ ले बताउनुभयो । दुई अध्यक्षबीच करिब ४५ मिनेट वार्ता भएको र वार्ता सकारात्मक रहेको बताइएको छ ।

पार्टीभित्रको किचलो लामो समयसम्म जारी रहेपछि अध्यक्ष ओलीले त्यसको दीर्घकालिन समाधानका लागि महाधिवेशन चाडो गराउनुपर्ने प्रस्ताव सार्नु भएको छ । उहाले सकिन्छ भने मंसिरमै महाधिवेशन गराउन प्रस्ताव समेत गरिसक्नु भएको छ । सोही प्रस्तावका विषयमा उहाहरुबीच छलफल भएको बताइएको छ । प्रधानमन्त्री ओलीको प्रस्तावलाई लिएर नेताहरु विभाजित बन्नु भएको छ ।

सबैले महाधिवेशन नै मुल ठाउँ भएको बताएपनि कहिले गर्नेमा विवाद रहदै आएको छ । नेकपाकै एक खेमाका दोस्रो तहका नेताहरु अझैपनि ओलीले अध्यक्ष र प्रधानमन्त्रीबाट राजिनामा दिनुपर्ने भारतीय एजेण्डा बोक्दै आईरहनु भएको छ । तर, मुल नेतृत्व भने राजिनामाको विषयमा पछाडी हटिसकेको छ ।

प्रधानमन्त्री ओलीले प्रचण्डलाई विभिन्न विकल्प दिएपनि गुटमा निर्णय गर्नुपर्ने दवावमा रहनु भएका उहाले ठोस निर्णय गर्न सक्नु भएको छैन । वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुलाई पनि मनाउनुपर्ने कारणले उहा निर्णय गर्ने क्षमताबाट बञ्चित रहेको नेकपाकै कतिपय नेताहरु बताउछन् ।

पूर्व माओवादीबाट आएका स्थायी कमिटी सदस्यले पनि प्रचण्डलाई मिल्न दबाव दिएपछि अहिले उहाँ अप्ठेरोमा पर्नुभएको छ । दुई अध्यक्षले विभिन्न कोणबाट सहमतिको प्रयास गर्नुभए पनि अहिलेसम्म ठोस सहमति बन्न नसकेको अध्यक्षका सचिवालयको भनाई छ ।