जनता टाइम्स

९ श्रावण २०७७, शुक्रबार १९:३५

मेलम्ची खानेपानी आयोजनाको डरलाग्दो भित्री कथा : सुरुङको स्वीकृत डिजाइन एउटा, निर्माण भयो अर्कै


काठमाडौं, साउन ९ । काठमाडौंबासीको सपना बनेको मेलम्ची खानेपानी आयोजना निर्माणमा नै भयंकर दुर्घटना हुने गरी चरम बेइमानी भएको तथ्य फेला परेको छ । जनताटाइम्सलाई प्राप्त आयोजनाको डिजाइन र निर्माण भएको संरचनाले मेलम्चीमा ठुलै बदमासी रहेको तथ्य देखाएको हो ।

पछिल्लो पटक परीक्षणको क्रममा सुरुङभित्रै इञ्जिनियरसहित दुई जनाको पानीले बगाएर बेपत्ता भएको थियो । जसमध्ये एकजनाको शव फेला परिसकेको छ भने एक जना अझै बेपत्ता छन । सुरुङ परीक्षणका लागि पानी छाड्दा ढोका नै फोडेर पानी आएपछि सुरुङभित्र गाडीमा रहेका दुवै जनालाई बगाएर बेपत्ता बनाएको छ । किन भयो त यस्तो दुर्घटना ? यस्को कारण भने मेलम्चीको सुरुङ निर्माणका लागि एप्रुभ भएको डिजाइन भन्दा बिल्कुलै फरक र अत्यन्तै कमजोर संरचना बनाइनु रहेको छ । जनताटाइम्सलाई प्राप्त डिजाइनले नै अत्यन्तै बदमासी गरी पानीले सजिलै फोडन सक्ने गरी ढोका बनाइएको छ । सुरुङमा ढोका निर्माणका लागि एप्रुभ भएको डिजाइन भन्दा कसैले एप्रुभ नै नभएको डिजाइन अनुसार ढोका बनाउँदा सो दुर्घटना भएको हो ।

हेर्नाेस स्वीकृत डिजाइन

खानेपानीमन्त्री बिना मगरले मेलम्चीको पानी केही समयभित्रै काठमाडौं आउने घोषणा गरेलगत्तै सुरुङ परीक्षण गर्दा त्यही कमजोर संरचनाका कारण अम्बाथानको ढोका नै बगाएर दुर्घटना भएको हो ।

हेर्नाेस बनाइएको डिजाइन

स्वीकृत डिजाइनअनुसार ५ स्थानका गेटहरु भित्रतिरबाट खोल्ने बनाउनु पर्नेमा स्वीकृत नै नभएको डिजाइनअनुसार बाहिरतिर खोल्ने बनाएकोले नट बोल्टले पानीको प्रेसर थाम्न नसकेको अवस्थामा सो दुर्घटना भएको हो । यस्ता ढोकाहरु ५ ओटा रहेका छन । जो डिजाइनअनुसार बनाइएको छैन । यो ढोका बनाउनै अव ६ महिना लाग्ने आयोजनाकै एक कर्मचारीले बताए । उनका अनुसार यो ढोका नेपालमा बनाउन सकिदैन, बिदेशबाट ल्याउनुपर्छ ।

मेलम्चीको सुरुङ निर्माणमा कार्यरत एक कर्मचारीका परीक्षणका लागि अनुसार २५ प्रतिशत मात्रै पानी छाडदा अम्बाथानको ढोका बगाएको छ । यस्तो ढोका ५ ओटा रहेको छ । जसमध्ये एउटा ढोका बगाएको हो । यस्तै डिजाइनबिपरित सिन्धुअडिटमा पनि यस्तै ढोका बनाइएको छ । सुन्दरी जलको बाहेक दुवै स्थानका ढोकाहरु गलत मनसायका साथ बनाइएको कारण पानीले सजिलै फोडन सक्ने र ठुलै दुर्घटना निम्तने देखिएको छ । मेलम्चीको सुरुङमा राखिएका भेन्टिलेशन शाफ्ट पनि मापदण्डअनुसार नरहेको पाइएको छ । पानी छाडदा प्रैसर बढन गई सजिलै पग्लिने गरी पाइपको राखिएकोले खतरा देखिएको निर्माणमै संलग्न एक कर्मचारीको भनाई छ । यस्तै रकबोल्ट पनि दुई मिटर हाल्नुपर्नेमा एक मिटर मात्रै हालिएको पाइएको छ ।

यी सवै बिषयमा खानेपानी मन्त्री बिना मगरलाई जानकारी पहिला नै दिइसकिएको ती कर्मचारीको भनाई छ । उनका अनुसार मेलम्चीको कन्सलट्यान्ट इप्टिशाका कर्मचारी, आयोजनाका पदाधिकारी र मन्त्रीसहित मन्त्रालयका सवैलाई स्वीकृत डिजाइन भन्दा बिपरित सुरुङमा ढोका निर्माण भएको जानकारी रहेको छ । तर सवै चुपचाप ठुलै दुर्घटना निम्त्याउने र आयोजना कहिल्यै पूरा नहुने दिशातिर धकेल्ने नियत देखिएको हो । हालका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीलाई यो जानकारी गराउँदा गराउँदै कर्मचारी सुरुङमा पठाएरु पानी परीक्षण गर्दा अम्बाथानमा दुर्घटना भई दुई जनाको ज्यान गएको स्रोतको भनाई छ । उनका अनुसार यही बास्तविकता बाहिर नल्याउनका लागि मन्त्रालयले खत्रीकै सेटिङमा उनका अनन्य मित्र रहेका सहसचिवको नेतृत्वमा अनुसन्धान टीम मेलम्ची पठाइएको छ ।