जनता टाइम्स

१२ श्रावण २०७७, सोमबार १३:५३

भारतीय दादागिरीले सिमा नाघ्यो : कालापानी–लिपुलेक र लिम्पियाधुरा आफ्नो भूमि भन्दै पठायो आपत्तिजनक पत्र


दार्चुला, साउन १२ । भारतले नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा र गुञ्जी क्षेत्रलाई आफ्नो भूमि भएको भन्दै सूचना दिन उल्टै नेपाललाई पत्र पठाएको छ । नेपालको दार्चुलासँग सीमा जोडिएको भारतीय जिल्लाका अधिकारीले कालापानी, लिम्पियाधुरा र गुंजीलाई भारतीय क्षेत्र भन्दै यस क्षेत्रमा नेपाली गुट र समूहले घुसपैठ गर्न लागेको पाएको उल्लेख गरी यसबारे सूचना दिन नेपाली पक्षलाई पत्र पठाएको हो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई जुलाई १४ (दुई साताअघि) पत्र पठाउँदै उत्तराखण्ड राज्यअन्तर्गत धारचुला जिल्लाका उपजिल्लाधीकारीले ‘नेपाली गुट र समूहले लुकिछिपी सीमा पार गर्न लागेको सूचना प्राप्त भएको’ भन्दै यसबारे जानकारी भए सूचना दिन आग्रह गरेका हुन् । यी समूहले मिडियाको ध्यान आकृष्ट गरी दुवैतिरका अधिकारीका लागि समस्या निम्त्याउन चाहेको पनि भारतीयको पत्रमा लेखिएको छ । भारतले अतिक्रमण गरेका यी क्षेत्रलाई समेटी नेपालले जेठमा नयाँ नक्सा प्रकाशित गरिसकेको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शरदकुमार पोखरेलले आफूलाई यस्तो पत्र आएको तर जवाफ दिनु आवश्यक नै नठानेको जानकारी दिनुभयो । ‘यसलाई जवाफ दिनुको औचित्य देखिएन,’ पोखरेलले भन्नुभयो । उहाँले दार्चुलाको माथिल्लो भागतिर कुनै पनि समूहले अनुमति लिएर नगएको तर स्थानीयले आफ्नो क्षेत्रमा गर्ने हिँडडुलको अभिलेख नराखिने बताउनु भयो । भारतले लामो समयदेखि कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूमि कब्जा गरी बसेको छ ।

उस्ले भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट सुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी सडक निर्माण गरेपछि नेपालले कडा आपत्ति जनाइसकेको छ । तर भारत बार्ताका लागिसमेत तयार भएको छैन भारतले कूल ७८ किलोमिटर लामो सो सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्छ । जस्को कारण नेपालले आफ्नो भूमिबाट भारतीय सेना फिर्ता लैजान र सडक निर्माण रोक्न भनिसकेको छ ।