जनता टाइम्स

१३ श्रावण २०७७, मंगलवार १०:५३

नेकपाको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित : यस्तो छ कारण


काठमाडौं, साउन १३

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक स्थगित भएको छ । विहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

मंगलबार बिहान ११ बजेका प्रधानमन्त्री निवास बालुवाटारमा बैठक डाकिएको थियो । तर, पछिल्लो सचिवालयको निर्णय अनुसार एजेण्डा तय हुन नसकेपछि बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।

‘पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले, पार्टी स्थायी कमिटीको आज ११ः०० बजे हुने भनिएको बैठक स्थगित गरिएको छ’, उहाले भन्नुभयो ।

नेकपाका कार्यालयले पनि अध्यक्षद्वयबीचमा परामर्श एवम् गृहकार्य हुन बाँकी रहेकाले बैठक स्थगित गरिएको जानकारी दिएको छ । अर्को बैठकको मिति भने अध्यक्षद्वयका बीचमा परामर्श भएपश्चात सूचना दिइने उल्लेख छ । ‘आज २०७७ साउन १३ गते बिहान ११ बजे शुरूहुने गरी आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा), स्थायी कमिटीको बैठक सचिवालय बैठकको निर्देशन बमोजिम अध्यक्षद्वयका बीचमा परामर्श एवम् गृहकार्य हुन बाँकी रहेको हुनाले स्थगित गरिएको ब्यहोरा अनुरोध गर्दछौं । अध्यक्षद्वयका बीचमा परामर्श भएपश्चात बैठकको सूचना गरिनेछ’, कार्यालय सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

सचिवालय बैठकले महाधिवेशनका लागि सबैलाई मान्य हुनेगरी मिति तय गर्ने निर्णय गरेको थियो । केन्द्रीय कमिटी बैठकले चैत अन्तिम साता एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समुहले एजेण्डा विपरित गएर स्थायी कमिटीमा राजिनामा माग गरेपछि विवादमा फसेको थियो ।

विवाद समाधानका लागि प्रधानमन्त्री ओलीले अर्लि महाधिवेशन गरौं भनेर प्रस्ताव गर्नुभएको छ । सो प्रस्तावमा सचिवालयका प्राय अधिकाशं सदस्यले सहमति जनाएका थिए । तर, मितिका विषयमा भने टुंगो लाग्न सकेको छैन ।