जनता टाइम्स

१३ श्रावण २०७७, मंगलवार १८:३९

‘स्थायी कमिटी बैठक’ नाम दिएको छलफलमा रडाको : घनश्याम भुषालमाथी पन्त र भुषालको आक्रमण प्रयास !


काठमाडौं, साउन १३

नेकपाको स्थायी कमिटी बैठक नाम दिएर प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल समूहको भेलामा केही समय रडाको मच्चिएको छ ।

लामो समय बैठकलाई बैधानिकता प्रदान गर्ने तयारी गरेपनि असफल भएपछि प्रचण्डले छलफलको शुरुवात गरेका थिए । पछिल्ला तीन दिन लगातार छलफलमा बोलाउदा पनि उपस्थित नभएका प्रचण्डले आज भने प्रधानमन्त्री ओलीसँग परामर्श गरेपछि छलफल शुरु गरेका थिए । प्रधानमन्त्रीले भेटमा स्पष्टसँग बैठक बैधानिक रुपमा स्थगित भएको छ, तपाईहरु छलफल गर्नुहुन्छ भने गर्नुहोस् भनेपछि छलफल शुरु भएको थियो ।

छलफलमा पूर्व माओवादी समुहका चार नेता अनुपस्थित रहनु भयो भने उपस्थित भएका नेताहरुले पनि पक्ष विपक्षमा भनाई राखे । प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीलाई भेटेर आएपछि प्रचण्डले सुरुमै बिफ्रिङ गर्दै भन्नुभयो, ‘प्रधानमन्त्रीले बैठक स्थगित भइसकेको छ, अब तपाईँ पनि बैठक नचलाउनुहोस, यसले वैधानिकता पाउँदैन भन्नुभयो, त्यसैले अब जेजे हुनु भइसक्यो, यसलाई बैठक नभनौँ, बैठक भन्यो भने अर्को दुर्घटनातर्फ जान्छ ।’

छलफललाई बैठक नभन्ने जनाएकाले हुन सक्छ, बैठकको अन्तिममा निष्कर्ष सुनाउँदै कृषि तथा पशुपन्क्षी विकासमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य घनश्याम भुषालले एउटा कागजमा टिपोट गरेर भन्नुभयो, ‘आजको यो भेलाले पार्टीभित्र सहमति खोज्ने जिम्मा अध्यक्ष कमरेड प्रचण्डलाई दिएको छ, उहाँहरू बसेर आगामी बैठकको मिति तय गर्नुहुनेछ ।’

मन्त्री भुषालले यो अभिव्यक्ति दिइनसक्दै स्थायी कमिटी सदस्यहरू बेदुराम भुषाल, रघुजी पन्त र अष्टलक्ष्मी शाक्य आक्रमण शैलीमा उत्रिएका एक सदस्यले जानकारी दिनुभयो । भुषाल र पन्तले यसलाई ‘बैठक नै भन्नुपर्ने, भेला भन्न नहुने’ भन्दै आक्रमणको प्रयास गरेको ति सदस्यले जानकारी दिनुभयो ।

मन्त्री भुषालले एउटा चिटमा लेखेर सुनाएको सो निष्कर्ष सुन्ने बितिक्कै पन्त भने आफ्नो ठाउँबाट जुरुक्क उठेर भुषालतर्फ लम्किए । भुषालले लेखेको कागज खोस्न लागेपछि एकछिन हल्ला मच्चियो । भुषालको हातको चिर्कटो खोस्न खोज्दै पन्तले रिसाएर भन्नुभयो, ‘यो भेला होइन, बैठक हो, बैठक हो भन्नुहोस, बैठकलाई भेला भन्ने तपाईं को हो ?’

दुई नेताको व्यवहार देखेर भुषाल रातो मुख लगाए थिए । स्थिति असामान्य भएपछि अध्यक्ष प्रचण्डले नै साथीहरु आक्रोशित नबन्नुहोस्, भन्दै अन्तिममा उनले बैठक नै भएको प्रष्टिकरण दिए । तर, बैठक भनेपनि छलफलमा भएका कुरा भने निर्णय पुस्तिकामा टिपोर्ट हुनेछैन ।

वैधानिक अनुसार बैठकमा भएका कुरा महासचिवले टिपोर्ट गर्नुपर्छ । तर, छलफलमा महासचिव विष्णु पौडेल नै उपस्थित नभएपछि त्यसले बैधानिकता प्राप्त नगर्ने अर्का एक नेताले जानकारी दिनुभयो । ‘उहाहरुको छलफल हो, छलफलले निर्णय गर्छ होला, तर त्यसले पार्टीको आधिकारीक निर्णयको मान्यता प्राप्त गर्दैन’, अर्का एक नेताले भने ।