काठमाडौं, साउन १४
नेपाल कम्युनिष्ट पार्टीमा पछिल्लो समय एउटा नयाँ विवाद देखियो । स्थायी कमिटी बैठक स्थगित कि सूचारु भन्ने । प्रधानमन्त्री एंव पार्टीको वरियतामा पहिलो अध्यक्ष केपी शर्मा ओलीले बैठक स्थगित गर्नुभयो ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समुहबीच खुमलटारमा भएको गुटको भेलाले जसरी पनि स्थायी कमिटी बैठक गर्ने भन्ने निर्णयमा पुगे । पूर्व निर्णय लिएर सो गुट स्थगित बैठक सञ्चालन गर्न बालुवाटार पुग्यो । तर, अध्यक्ष ओलीले बैठक स्थगित गरिसकेकाले त्यसले बैधानिकता नपाउनेमा निश्चित जस्तै छ ।
बैठकका विषयमा दुई पक्षबीच किन लफडा भयो ? यसको चुरो कुरामा पुग्न करिव डेढ साता पछाडी फर्कनुपर्ने हुन्छ । नेकपामा विवादको श्रृखला पहिले देखी चल्दै आएको हो । स्थायी कमिटीको पाँचौं बैठक चलिरहदा प्रचण्ड–नेपाल गुटले भारतलाई सहयोग पुग्ने गरी एक्कासी राजिनामाको विषय एजेण्डामा घुसाउन खोजे । त्यसपछि विवादले झनै उग्ररुप लियो । विवादले उग्ररुप लिदै जान थालेपछि सहमतिका लागि बैठक स्थगित गरेर दुई अध्यक्ष छलफलमा जुटे ।
दुई अध्यक्षबीच लामो छलफलपछि साउन २ गते एउटा सहमति बन्यो । सहमति अनुसार ३ गते शनिवार सचिवालय बैठक आव्हान भयो । सचिवालय बैठकमा अध्यक्ष ओलीले अर्लि महाधिवेशनको कुरा प्रस्ताव गर्नुभयो । अधिकाशं सदस्य सहमति जनाएपछि महाधिवेशनको खाका बनाएर ल्याउन दुई अध्यक्षलाई जिम्मा समेत दियो ।
सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षले राष्ट्र र जनताले दिएको जिम्मेवारी पनि पुरा गर्नेतिर अगाडी बढ्नुपर्ने भएकाले यसविषयमा अझै यो सचिवालयले पनि गृहकार्य गरौं भन्ने प्रस्ताव राखेको जानकारी गराउनु भएको थियो । ‘सहमतिका आधारमा सम्बोधन गरौँ, सहमतिका आधारमा निकास निकालौं भन्ने भएको छ । छलफल जारी छ । सचिवालयमा अझै छलफल गरेर पार्टी एकता रक्षा र सुदृढ गर्ने, जनादेशअनुसार काम गर्ने गरी अझै थप छलफल गर्ने निष्कर्ष निकालिएको छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भन्नुभएको थियो ।
बैठकलगत्तै प्रचण्डको आग्रहमा राष्ट्रपतिको अगाडी नेताहरुबीच छलफल समेत भयो । त्यहाबाट निस्किएपछि प्रचण्डले अचानक बोली फेर्न थाल्नु भयो । र सहमतिबाट पछाडी समेत हट्नुभयो । ६ गते स्थायी कमिटीको बैठक बस्यो र त्यसले बाढीपहिरो पिडीतलाई राहत दिन सरकारलाई अनुरोध गर्ने निर्णय गर्दै बैठक १३ गतेसम्मका लागि स्थगित गर्यो ।
त्यसबीचमा दुई अध्यक्षबीच जम्मा एक पटकमात्र छलफल भयो । प्रचण्ड–नेपाल पक्ष सचिवालय बैठक बस्न आनाकानी गर्न थाल्नु भएको बालुवाटार स्रोतले जानकारी दियो । साउन ३ गतेको सचिवालय बैठकले सहमतिको खाका लिएर आउने दिएको जिम्मेवारी बिर्सेर बैठक नै बस्न तयार नभएपछि ओली निरास बन्नु भएको उहा निकट नेताहरु बताउछन् । सहमतिका लागि हदैसम्म प्रयास गर्दा पनि उहाहरु आउनु भएन ।
स्थायी कमिटी बैठक आउने केही दिन अगाडीदेखी ओलीले प्रचण्डलाई पटक पटक फोन समेत गर्नुभयो । आइतवार र सोमबार विहानदेखी दिउसोसम्म गरेका फोनवार्तामा प्रचण्डले घाटीमा समस्या भएकाले विरामी परेकाले आउन नसक्ने बताउनु भयो । तर, त्यही बेला उहा खुमलटारमै गुटको भेलामा सक्रिय भएको खवरहरु बालुवाटार पुगिसकेका थिए ।
त्यसपछि मंगलबार विहान महासचिव विष्णु पौडेल अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुग्नु भएको थियो । उहाले स्थायी कमिटी बैठक अगाडी सचिवालय बैठक बस्ने पूर्ण निर्णयलाई कार्यन्वयन गर्नुपर्ने बताउनु भयो । प्रचण्डले म अध्यक्षलाई भेट्न ९ बजे आउछु भनेर महासचिव पौडेललाई पठाउनु भएको थियो । ९ बजेपनि प्रचण्ड बालुवाटार नआएपछि उहाकी स्वकीय सचिव गंगा दाहालको फोनमा बालुवाटारबाट पटक पटक फोन गएपनि रिसिभ भएन ।
प्रधानमन्त्री ओलीले नै प्रचण्डलाई फोन गर्नुभयो । प्रचण्डले म आउदैछु, सचिवालय बैठक बस्न भ्याउछ भनेर जवाफ दिनुभयो । तर, सवा १० बजेसम्म पनि नआएपछि प्रधानमन्त्री ओलीले महासचिवलाई बैठक स्थगित भएको सुचना निकाल्न निर्देशन दिनुभयो । ओलीले पहिला सचिवालय बैठक बस्नुपर्ने र स्थायी कमिटी बैठक राख्नुपर्ने पूर्व निर्णय कार्यान्वयन हुनुपर्ने बताउनु भयो ।
तर, प्रचण्ड–नेपाल पक्ष जसरी पनि बैठक बस्नुपर्ने गुटको पूर्व निर्णय बमोजिम बालुवाटार पुग्नु भयो । सवा ११ बजेसम्म सो गुटका दुई आमन्त्रितसहित १८ नेता बालुवाटार पुगेका थिए । एक बजेसम्म पनि २० नेता पनि नपुगेपछि प्रचण्ड र नेपालले प्रत्येक सदस्यलाई व्यक्तिगत रुपमा टेलिफोन गर्दै बैठकमा आउन दवाव दिन थाल्नुभयो । त्यसबीचमा प्रधानमन्त्री ओलीको सन्देश लिएर बैठकस्थलमा महासचिव पौडेल आउनु भयो ।
उहाले आपसी सहमतिका साथ अगाडी बढ्ने भए दुई अध्यक्षबीच छलफल गरौं, होइन भए जसलाई जे मन लाग्छ त्यही गरौं भन्ने बताउनु भयो । त्यसपछि प्रचण्ड छलफलका लागि राजी बन्नुभयो । प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनालपनि प्रधानमन्त्री ओली भेट्न पुग्नुभयो । त्यसबीचमा यता नेता नेपाल भने सदस्यलाई फोन गरेर बोलाउदै हुनुहुन्थ्यो ।
प्रचण्ड–खनाल भेट्न पुग्दा प्रधानमन्त्री ओली, महासचिव पौडेल र ईश्वर पोखरेलसँगै हुनुहुन्थ्यो । सो भेटमा प्रधानमन्त्री ओलीले प्रचण्ड–खनाललाई सिधा भाषामा पूर्व निर्णय सम्झाउनु भएको एक नेताले जानकारी दिए । प्रधानमन्त्री ओलीले दुई नेतालाई भनेको कुरा उदृत गर्दै स्रोतले भन्यो, ‘कसले रोकेको सचिवालय बैठक रु सचिवालय बैठकमा के सहमति भएको थियो रु बैठकले गरेको सहमति पालना गर्नु पर्दैन ? छलफल गरौं भन्दा नआउने अनि बाहिर मैले बैठक रोक्यो भनेर प्रचार गर्ने रु तपाईंहरू गए हुन्छ । खुमलटारमा गुटको भेला गरिरहनु भएको छ । गर्नुस् जानुस । ’
ओलीले स्थगित गरिएको स्थायी कमिटीको बैठकले कुनै निर्णय गरेमा तपाई र म एउटै पार्टीको अध्यक्ष रहिरहन सक्दैनौं विचार गर्नुहोस् भनेर भनेको प्रचण्ड–नेपाल निकट एक नेताले जानकारी दिनुभयो । उहाका अनुसार प्रधानमन्त्री ओलीले बहुमत भए निर्णय गरेर अघि बढ्ने हिम्मत गर्नुहोस् भनेर चुनौति समेत दिएको उल्लेख गर्नुभयो । त्यसपछि बैठकमा आउने वित्तिकै अध्यक्ष प्रचण्डले बैठक अनौपचारिक छलफल भएको प्रष्ट पार्नुभयो । उपाध्यक्ष बामदेव गौतमले आफ्ना ६ बुदे प्रस्ताव राखेर निस्कनु भयो ।
मंगलबारको छलफलमा शिर्ष नेता भन्दा पनि नेपाल समुहका केही सदस्य चर्को रुपमा प्रस्तुत भएको स्रोतले जानकारी दिएको छ । सो समुहले २९ जना उपस्थित भएको जनाएपनि सबैले एउटै विचार भने राखेका छैनन् । अधिकाशंले राजिनामाको विषय उठाएनन् बरु हाम्रा टाउको गन्दै पदको बार्गेनिङ गर्ने भन्दै उल्टै नेतृत्वलाई प्रश्न गरे । त्यसपछि सो समुहले पनि अध्यक्षद्वयबीच सहमति गरेर मात्रै स्थायी कमिटी बैठक बस्ने निर्णय भने गरेको छ । जुन निर्णय अध्यक्ष ओलीले बैठक बस्नु अगाडी नै गरिसक्नु भएको थियो ।













प्रतिक्रिया दिनुहोस्