जनता टाइम्स

१४ श्रावण २०७७, बुधबार १२:५४

प्रदेश–२ कोरोनाको उच्च जोखिममा : २७४ जनाको स्वाब परीक्षण गर्दा ३४ संक्रमित


वीरगञ्ज, साउन १४

पर्सा जिल्लामा सेना, प्रहरी र कैदीबन्दीसहित ३४ जना नयाँ कोरोना सङ्क्रमित फेला परेका छन् । वीरगञ्जको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदन उपाध्यायले पर्सा जिल्लामा सेना, प्रहरी र कैदीबन्दीसहित ३४ जना नयाँ कोरोना सङ्क्रमित फेला परेको पुष्टि गर्नुभयो ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा २७४ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले जानकारी दिनुभयो । नयाँ फेला परेका सङ्क्रमितहरूमा नेपाली सेनाका एक जना, नेपाल प्रहरीका तीन जना, वीरगञ्ज कारागारका कैदीबन्दी छ जना, वीरगञ्ज कारागारकै कर्मचारी दुई जना, स्वास्थ्यकर्मी एक जना र पैसा तिरेर पीसीआर परीक्षण गराएकामध्ये एक जना गरी ३४ जना रहेका छन् ।

पाँच जना बालबालिका र १० जना महिलासहित सङ्क्रमण फेला परेका ३४ जनामा दुई वर्षदेखि ६५ वर्ष उमेर समूहका छन् । वीरगञ्ज वडा न १५ का आठ जना, वडा नं. ४ का ११ जना, वडा नं. ५ का तीन जना, वडा नं. २५ का तीन जना, वडा नं. ९ , ११ , १२ , ३२ का एक–एक जना, वडा न १० आदर्शनगरका दुई जना र हरैयाका एक जना छन् ।

पर्सामा आइसोलेसन बेडको अभावमा यसअघि नै ४८ जना सङ्क्रमित अस्पताल नगई घरमा नै रहेका छन् भने आज ३४ जना सङ्क्रमित बढेसँगै सङ्क्रमितको व्यवस्थापनमा अझ थप समस्या सिर्जना भएको छ । घरमै सङ्क्रमित रहँदा धेरैले होम आइसोलेसनको मापदण्ड पूरा गर्न नसक्ने भएकाले परिवारका अन्य सदस्यमा सङ्क्रमण फैलने उच्च जोखिम रहेको छ ।

होम आइसोलेसनमा अलिकति लापरवाही भयो भने परिवारमा सबैमा सङ्क्रमण हुन्छ नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले भन्नुभयो । पचास बेड क्षमताको अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा ६२ जना सङ्क्रमितलाई राखी उपचार गरिँदैछ ।

जसमध्ये पाँच जना आईसीयुमा छन् । आठ जनालाई त्रिजुद्ध स्कुलको क्वारेन्टाईनमै राखिएको छ । पाँच जना पर्सागढीमाको क्वारेन्टाईनमा, तीन जना सखुवाप्रसौनीको क्वारेन्टाईनमा र एक जना ठोरीकै क्वारेन्टाइनमा राखिएको छ । महानगरले सुरु गरेको एक घर एक पीसीआर परीक्षण नीतिअनुरुप ‘मास टेष्टिङ’बाट सङ्कलन गरिएका करिब एक हजार पाँच सय स्वाबको नमुना परीक्षणका लागि लाइनमा राखिएको छ । त्यसबाट ठूलो सङ्ख्यामा सङ्क्रमित फेला परेमा स्थिति नियन्त्रणभन्दा बाहिर जान सक्ने भएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्था मिलाउनुपर्ने सुझाव विज्ञहरूको छ ।