जनता टाइम्स

१५ श्रावण २०७७, बिहीबार १५:५९

उद्योगमन्त्री लेखराज भट्टलाई टेलिफोनमै आयो धम्की : समर्थन गरिस भने तेरो टाउको काटिन्छ


काठमाडौं, साउन १५ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई एक ब्यक्तिले ज्यान मार्ने धम्की दिएका छन । सुदुरपश्चिम प्रदेशकै एक जनाले फोन गरेर मन्त्री भट्टको टाउको काटने धम्की दिएका हुन ।

संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा मन्त्री भट्टले आफूलाई मार्ने धम्की दिएको बिषयमा खुलासा गर्नुभयो । समितिमा मन्त्री भट्टले दिनुभएको जानकारीअनुसार बझाङबाट एक जनाले मंगलवार टेलिफोन गरेर आफ्नो टाउको काट्ने धम्की दिएका हुन । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौतालाई समर्थन गरेमा आफूलाई ज्यान मार्ने धम्की आएको उहाँले बताउनु भयो ।

‘अस्ती (मंगलवार) मलाई एउटा फोन आयो, बझाङ जिल्लाबाट एमसीसीको बारेमा सोधेर, तैले समर्थन गरिस भने तेरो टाउको काटिन्छ । शब्दै यही छ,’ नेकपाका स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री भट्टले समितिमा भन्नुभयो । उहाँले टेलिफोन सम्वादको बिषयमा थप खुलासा गर्दै भन्नुभयो, ‘अनि मैले भाइ तपाईले (सम्झौता) पढ्नुभएको छ, भनेँ, किन पढ्नुपर्यो पास नगर्ने भनेसि नगर्ने, पढ्ने तेरो जिम्मा हो भने ।’

नेकपाभित्रको बिवादमा मन्त्री भट्ट प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा दृढताका साथ उभिदै समृद्ध नेपाल सुखी नेपालीको अभियानमा लागेपछि आएको यस्तो धम्कीलाई सुनियोजित रहेको अनुमान गरिएको छ । यद्यपी यस बिषयमा मन्त्री भट्टले थप खुलाउनु भएको छैन । सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीलाई साथ दिएपछि पूर्वमाओवादीको एउटा समुह मन्त्री भट्टबिरुद्ध सुनियोजित रुपमा षडयन्त्रमा लागेको भन्दै आलोचना भइरहेको देखिन्छ । ठीक यही बेला मन्त्री भट्टलाई ज्यानै मार्ने धम्की आएको हो ।