जनता टाइम्स

१५ श्रावण २०७७, बिहीबार १६:२३

निर्मला पन्त हत्या प्रकरणमा दोषी बनाइएका एसपी बिष्ट र डिएस्पी जिसीसिहित आठै प्रहरीले पाए सफाई


कञ्चनपुर, साउन १५ । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा कमजोरी गरेको भन्दै मुद्दा लगाइएका एस्पी र डिएस्पीसहितका प्रहरीले सफाई पाएका छन । जिल्ला अदालत कञ्चनपुरले निर्मला पन्त प्रकरणमा मुद्दा खेपिरहेका प्रहरीहरूलाई सफाइ दिने फैसला गरेको हो ।

न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले आज ‘निर्मला हत्या प्रकरण’ अनुसन्धानमा संलग्न तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का डीएसपी अंगुर जिसीसहित ८ जनालाई सफाइ दिएको हो । घटना अनुसन्धानका क्रममा प्रमाण नष्ट गरेको, पक्राउ परेकालाई यातना दिएकोलगायतका आरोपसहित एसपी विष्ट र डिएस्पी जिसीसहित डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकीन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्त र खड्कसिंह विष्टले मुद्दा हाल्नुभएको थियो ।

अदालतले सवै प्रहरीलाई निर्दाेष ठहर गरी सफाइ दिएको हो । सो प्रकरणमा एसपी बिष्टलाई बर्खास्त गरिएको थियो भने अन्य निलम्बित थिए । आरोप लगाइएका सवै प्रहरीले आफूहरु सो घटनामा दोषी नरहेको बताएका थिए ।