जनता टाइम्स

१५ श्रावण २०७७, बिहीबार १७:४३

उद्योगमन्त्री लेखराज भट्टको बटमलाइन : केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन मिल्दैन


काठमाडौं, साउन १५ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन नमिल्ने प्रष्ट बटमलाइन सुनाउनु भएको छ । काठमाडौंमा आज आयोजित सत्क्षात्कारमा बोल्दै नेकपाका स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री भट्टले यस्तो बटमलाइन सुनाउनु भएको हो ।

‘केपी ओली नै पाँच वर्षको प्रधानमन्त्री हो, पार्टीले सरकारलाई सहयोग गर्छ । पार्टी भनेको सबै हो । जोसुकै रिसाउन वा जेसुकै भनुन अहिले प्रधानमन्त्री ओलीको विकल्प छैन,’ मन्त्री भट्टले भन्नुभयो । उहाँले ओली नेतृत्वको वर्तमान सरकारलाई पाँच वर्ष नै निरन्तरता दिएर ईतिहास रच्नुपर्ने र अस्थिरताको ‘ब्रेक–थ्रु’ हुनुपर्ने पक्षमा आफू दृढतापुर्वक उभिएको र त्यसैअनुसार अघि बढने घोषणा पनि गर्नुभयो । पार्टीभित्र अहिले देखिएको बहस, छलफल र वादविवाद अन्ततः सहमतिमै पुगेर सबै कुराको हल हुने विश्वास पनि उहाँले ब्यक्त गर्नुभयो । ‘सबै एकै ठाउँमा आउनुहुन्छ । र, सहमति हुन्छ । सहमतिको विकल्प छैन,’ मन्त्री भट्टले भन्नुभयो, ‘पार्टी एकता, संघर्ष र रुपतान्तरणबाटै चल्ने हो ।’

मन्त्री भट्टले केही तत्व खेल्न खोजे पनि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच सहमति हुने र सहमतिको विकल्प नभएको यथार्थ पनि राख्नुभयो । जिकिर गरे । ‘केही प्रवृत्तिले पार्टीभित्र खेल्न खोजेको छ, तर, हामी ती प्रवृत्तिलाई पराजित गरेरै अघि बढ्छौं,’ मन्त्री भट्टले भन्नुभयो । उहाँले एकता महाधिवेशनसम्म दुवै अध्यक्ष अनिवार्य निरन्तर रहने र पहिलो महाधिवेशन पनि सहमतिकै आधारमा सम्पन्न गरिने जानकारी पनि दिनुभयो ।

‘हामी महाधिवेशनबाट नेतृत्व पनि सहमतिमै टुँगो लगाउँछौं,’ मन्त्री भट्टको भनाई थियो । उहाँले आफू नेताविशेषको क्याम्पमा नभई पार्टीको क्याम्पमा रहेको घोषणा पनि गर्नुभयो । ‘म दुवै अध्यक्षको क्याम्पमा छु । दुवै अध्यक्ष एकै ठाउँमा हुनुपर्छ । यदि मैले दुवै अध्यक्ष मिलेर अघि बढ्नुपर्छ । र, सहमतिकै साथ अघि बढ्नुपर्छ भन्दा धोका दिएको हुन्छ भने धोका दिएकै सही । तर, म एकताको पक्षमा छु । पार्टी एकतालाई सुदृढ बनाउनुपर्छ भन्ने नै मेरो लाईन हो,’ मन्त्री भट्टले भन्नुभयो ।