जनता टाइम्स

१५ श्रावण २०७७, बिहीबार २१:००

कोरोना नियन्त्रणमा सरकारको अर्को कदम : जोखिम ठाउँ सिल गरेर परीक्षणको दायरा बढाइने


काठमाडौं, साउन १५

सरकारले कोरोना संक्रमणलाई फैलिन नदिन जोखिम ठाउँको पहिचान गर्ने भएको छ । जोखिम ठाउँ देखिनवित्तिकै त्यसलाई सिल गरेर परीक्षणको दायरा बढाउने भएको हो । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिको बिहीबार बसेको बन्दाबन्दी खुकुलो भएपछि संक्रमणको जोखिम रहेका ठाउँको अवस्था विश्लेषण गरी पीसीआर परीक्षणको दायरा बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले आवश्यकता अनुसार संक्रमण देखिएको ठाउँ सिल गरेर पीसीआर परीक्षणको दायरा बढाइने जानकारी दिनुभयो । १ भाद्रबाट शुरु हुने सेवा क्षेत्र सञ्चालनका लागि आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड तयार पार्न पनि बैठकले सम्बन्धित मन्त्रालयहरूलाई जिम्मेवारी दिएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यका प्रवेश गर्नेहरूको पीसीआर परीक्षण गरिरहेको सरकारले अब प्रवेश विन्दुमा नै क्वारेन्टिन व्यवस्थापन गर्ने भएको छ । बैठकले बन्दाबन्दी खुकुलो भएको केही दिनयताको परीक्षण नतिजा विश्लेषण गरी आगामी रणनीति तय गर्ने निष्कर्ष पनि निकालेको छ ।