जनता टाइम्स

१६ श्रावण २०७७, शुक्रबार २१:४४

बारामा पनि आइतवारदेखी निषेधाज्ञा


बारा, साउन १६

जिल्ला प्रशासन कार्यालय बाराले जिल्लाका मुख्य नगर क्षेत्रमा साउन १८ गते आइतबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नहुञ्जेल आइतबार बिहान ५ बजेबाट लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । बैठकले कोरोनाको महामारीलाई ख्याल गर्दै कलैया,जितपुर सिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका, कोल्हबी नगरपालिका, सिम्रौनगढ नगरपालिका, बरियारपुर र वीरगञ्ज–पथलैयासहितका क्षेत्रमा सवारी साधन सञ्चालन गर्न र हिँडडुल गर्न नपाउने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।

निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा प्रवाह गर्नेबाहेक सम्पूर्ण कार्यालयहरु समेत बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी गराउनु भयो । निषेधाज्ञा अटेर गरेर घरबाहिर निस्कनेलाई सङ्क्रामक रोग निवारण ऐन २०२० बमोजिम कारबाही गरिने स्थानीय प्रशासनले जनाएको छ । कोरोना महामारीको जोखिम बढ्दै गएको र सर्वसाधारणले सावधानी नअपनाएका कारण निषेधाज्ञा जारी गर्नु परेको प्रशासनले जनाएको छ ।