जनता टाइम्स

१७ श्रावण २०७७, शनिबार १०:४३

विभिन्न जिल्ला भ्रमण गरेर फर्किनु भएको थियो कोरोना संक्रमित सांसद यादव


काठमाडौं, साउन १७

कोरोना संक्रमित भएको घोषणा गर्नुभएका प्रतिनिधिसभाका सांसद प्रदिप यादव केही जिल्लाको भ्रमण गरेर फर्किएको खुलेको छ । सार्वजनिक लेखा समितिको वैज्ञानिक वन अध्ययन उपसमितिका सदस्य समेत रहनु भएका उहा साउन १५ गतेमात्रै सिन्धुलीको एक कार्यक्रममा सहभागी भएर फर्किनु भएको खुलेको हो ।

१५ गते सिन्धुलीमा भएको कार्यक्रम सकेर वीरगञ्ज पुग्नु भएपछि उहाले कोरोना परीक्षणका लागि स्वाब दिनु भएको थियो । त्यसपछि उहामा संक्रमण पुष्टि भएको हो । सिन्धुलीको भ्रमण अगाडी सांसद यादवले बाढी प्रभावित ठाउँहरुको पनि निरीक्षण गर्नुभएको थियो । उहाले आफु संक्रमित भएको उपसमिति संयोजकलाई लाई पनि भनिसकेको र आफु निकट आएका सबैलाई स्वाब परीक्षण गर्न भनिसकेको जानकारी दिनुभयो ।

उहाले परिवारका सदस्यको पनि आज कोरोना परीक्षण गरिने जानकारी दिनुभयो । सांसद यादवले जिल्लाका चिकित्सकले फोन गर्दा समेत नउठाएको गुनासो समेत गर्नुभयो । शुरुमा डायरिया लागेपछि चिकित्सकलाई सुझाव माग्न फोन गरेपनि विहानसम्म कसैले फोन पनि नउठाएको र कल ब्याक पनि नगरेको जानकारी दिनुभयो ।