पोखरा, साउन १८
काठमाडौंबाट हालै फर्किएका तनहुँका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । साउन २ गतेदेखि ८ काठमाडौं बसेर फर्किएका आँबुखैरेनी गाउँपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । पोखरामा गरिएको परीक्षणमा गाउँपालिकाका उच्च तहका कर्मचारीमा संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभएको छ ।
गत १४ गते गाउँपालिकाको क्वारेन्टाइन र कन्ट्रयाक्ट ट्रेसिङबाट ९ जनाको स्वाब पीसीआर परीक्षणका लागी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाईएको थियो । जसमध्ये ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । १ जना ४२ वर्षीय पुरुषको भने पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य शाखा प्रमुख उपाध्यायले बताउनुभयो ।
कर्मचारीमा कोरोना पुष्टि भएपछि गाउँपालिका कार्यालय ३ दिनका लागि बन्द गरिएको छ । गाउँपालिकाका कर्मचारी र अन्य केही सम्पर्कमा आएका २६ जनाको स्वाब लिएर परीक्षणका लागि पठाइएको छ ।
‘उहाँ बिदा लिएर पारिवारिक काममा जानुभएको थियो । त्यही क्रममा काठमाडौंको एक अस्पतालमा गएको भन्ने खबर पाएका छौं,’ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले भन्नुभयो, ‘ट्रेसिङको काम भयो अब भोलिसम्म सबै रिपोर्ट आउँछ ।’ त्यस्तै गाउँपालिकाले आज एक सूचना जारी गर्दै गाउँपालिका कार्यालय क्षेत्र जोखिम देखिएको हुँदा गाउँपालिका तथा वडा कार्यालयबाट प्रवाह हुने सेवा २० गतेसम्म पुर्ण बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्