काठमाडौं, साउन १८
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३१ जनालाई कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ३१ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार काठमाडौंका २२, ललितपुरका ८ र भक्तपुरका १ सहित २४६ जनालाई कोरोना पोजेटिभ देखिएको बताउनुभयो । योसँगै कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ । नेपालमा थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१६ की ६८ वर्षीय महिला रहनुभएको छ ।
ज्वरो, रुघाखोकी जस्ता समस्या देखिएपछि १४ साउनमा नारायणी बयोधा अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा स्वास्थ्य समस्या थप जटिल बनेपछि उहाँलाई थप उपचारका लागि १७ साउनमा नारायणी कोभिड अस्पताल रेफर गरिएकोमा लैजादै गर्दा बाटोमा नै मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ । आज मृत्यु पुष्टि भएसँगै देशमा अहिलेसम्म ४५ पुरुष, ११ महिला र १ शिशुको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जसमध्ये तीनजना विदेशी छन् । मृतक विदेशीमध्ये एकजना चिनियाँ र दुईजना भारतीय हुन् ।
प्रतिक्रिया दिनुहोस्