जनता टाइम्स

१८ श्रावण २०७७, आईतवार २१:२०

दुई साँक्षी राखेर ओली-प्रचण्डले गरे यस्तो सहमति


काठमाडौं, साउन १८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच महाधिवेशन अघि संख्याका आधारमा नभई सहमतिकै आधारमा पार्टीभित्र देखिएको समस्याको समाधान गर्ने सहमति भएको छ । लामो संवादहीनता तोडदै आज दुई नेतालाई साँक्षी राखेर बालुवाटारमा भएको पौने चार घण्टा लामो बार्तामा संख्याको आधारमा नभई सहमतिकै आधारमा समस्याको निकास दिने सहमति जुटेको हो ।

आजको बर्तामा अध्यक्ष ओलीले संबिधानसभाका अध्यक्ष तथा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका बरिष्ठ नेता झलनाथ खनाललाई साँक्षीका रुपमा राख्नुभएको थियो । दुवै साँक्षीलाई छलफलमा भएको साझा कुरा बाहेक अन्य बिषयमा बोल्न नपाउने बाचा कवोल गरी सुरु भएको छलफलमा दुवै अध्यक्ष एक कदम पछि हटनुभएको छ । आजको बार्तामा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुपर्ने अडानबाट पछि हटदै खुला खुलस्त कुरा राख्नुभएको छ ।

‘लामो संवादहीनता तोडदै दुई अध्यक्षबीच आजको भएको बार्ता निकै फलदायी र सकारात्मक रहेको छ, बार्तामा दुवै अध्यक्ष खुलेर प्रस्तुत हुनुभयो, आफ्नो धारणा राख्नुभयो र निश्कर्षका रुपमा बार्ता र संवादमार्फत सहमतिकै आधारमा पार्टीभित्र देखिएको समस्याको समाधान गर्ने सहमतिमा पुग्नुभयो,’ बैठकमा सहभागी नेता नेम्वाङले जनताटाइम्ससँग भन्नुभयो । उहाँका अनुसार दुवै अध्यक्षले एकता भत्कन नदिन अन्य नताहरुसँग पनि परामर्श गरी सोमवार थप छलफल गरी निकासमा दिने सहमति पनि आजको बैठकमा गर्नुभएको छ ।

‘कुरा पोजेटिभ छ, भित्र के के भए भन्ने सहमतिपछि निश्कर्षका रुपमा आउँछ,’ नेम्वाङले भन्नुभयो । दुई अध्यक्षबीच साउन १३ गतेपछि आज पहिलो पटक संवाद भएको हो ।