जनता टाइम्स

१९ श्रावण २०७७, सोमबार १५:२१

संक्रमणको जोखिम बढेसँगै फेरि जोर विजोर लागू गर्न प्रस्ताव


काठमाडौं, साउन १९

काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोर विजोर लागू गर्न प्रस्ताव गरेको छ । यसअघि सरकारले २६ असारबाट निजी सवारी साधानको जोरविजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लामा सार्वजनिक सवारी चलाउन दिएको थियो ।

साथै भदौ १ बाट लामो दुरीको सवारी पनि चलाउने तयारी छ । तर लकडाउन खुला भएसँगै कोरोना संक्रमण बढेको छ भने उपत्यकामा पनि जोखिम थपिएको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार उपत्यकामा संक्रमण फैलिन नदिने हो भने सवारी साधनमा जोरविजोर, बाहिरबाट आउनेहरुलाई १४ दिन अनिवार्य होम वा स्थानीय क्वारेन्टाइन जस्ता उपाय अपनाउनुको विकल्प छैन । मन्त्रालयले उपत्यका प्रवेश गर्ने तीन नाका थानकोट, साँगा र फर्पिङमा साउन १० देखि १३ गतेसम्म १० हजार ८२७ नमुना संकलन गरेको थियो ।

त्यसमध्ये करिव ३७ सय नमुना परीक्षण गर्दा २५ जनामा संक्राण पुष्टि भएको थियो । अहिले पनि कोरोना संक्रमण फैलिएको क्षेत्रबाट मानिसहरु काठमाडौं आउने क्रम रोकिएको छैन । यसरी आउनेहरुलाई रोक्न नसके पनि १४ दिन अनिवार्य होम क्वारेन्टिन वा स्थानीय तहको क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरे मात्र उपत्यकालाई संक्रमणबाट जोगाउन सकिने मन्त्रालयका अधिकारी बताउँछन् ।