१२ जेष्ठ २०७६, आईतबार ००:००

पाँचथर हत्याकाण्ड : अझै त्रासमा छन् स्थानीय


पाँचथर, जेठ १२

मंगलबार बिहानदेखि कान्छीमाया फियाकले खाना नै खानुभएको छैन । उहाँका हातगोडा अझै कापिरहेका छन्, ओठ सुकेका छन् । सबैले सोध्ने प्रश्नको उत्तर दिएर उहाँ गलिसक्नुभएको छ । चिया र केही फलफूल खाएर उहाँ घरको वरपर गर्नुहुन्छ । सुनसान उहाँको घरमा अहिले दिउँसोको समयमा मान्छेको घुइँचो टुट्दैन तर राति भने कोही हुँदैन । ९ जनाको सामूहिक हत्या भएको पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं ३ आरुबोटेमा बमहादुर फियाकको घरको सबैभन्दा नजिक कान्छीमायाको घर छ । कान्छीमाया बमबहादुरका काकाकी छोरी हुन् ।

कान्छीमायाले बमबहादुरकी साइली छोरीकी छोरी सीता खजुमलाई आक्रमणकारीबाट बचाउनुभयो तर त्यो विभत्स हत्याको दृश्य देखेपछि उहाँले शान्तिको श्वास फेर्न पाउनुभएको छैन । ‘छ दिन भयो, निन्द्रा लागेको छैन । केही खाऔँ मन लाग्दैन,’ चिन्तामा देखिनुभएका कान्छीमायाले भन्नुभयो, ‘साह्रै डर लागेको छ, म त एक्लो मान्छे, अब कहाँ जाने ? के खाने ?’ त्यस्तै सामूहिक हत्यामा मारिएका बमबहादुरका छिमेकी हुन्, बजिन्द्रप्रसाद फियाक ।

बजिन्द्रको घर घटनास्थलभन्दा करीव १५० मिटर पर भए पनि डाँडोले छेकेको छ । बजिन्द्र आरुबोटेका स्थापित सामाजिक अगुवा हुन् तर आज सबै स्थानीय त्रासले कापेको देख्दा उहाँलाई समाज कति असुरक्षित रहेछ भन्ने प्रश्नले घेरेको छ । ‘हाम्रो ज्यानधनको सुरक्षा छैन भने उदाहरण यो घटना हो’ बजिन्द्रप्रसादले भन्नुभयो, ‘कसैलाई पनि सुरक्षित छौँ भनेर आश्वस्त पार्न सकिएको छैन ।’

मिक्लाजुङ–३, आरुबोटेका बमबहादुर फियाक र उहाँका ज्वाइँ धनराज शेर्माको परिवारका ९ जनाको गत सोमबार राति सामूहिक हत्या भएपछि यो वडाका अधिकांश स्थानीय त्रासमा बाँचेका छन् । वडाध्यक्ष हस्तराज फियाक फिल्ममा हेरेको काल्पनिक कथा र कतै सुनेको घटनाभन्दा विभत्स र डरलाग्दो घटना आफ्नै आँखाअघि भएपछि स्थानीय त्रासमा बाँचेको बताउँछन् ।

‘अहिलेसम्म एक जना मान्छेले सबैको हत्या गर्‍यो भन्ने पुष्टि भएको छ,’ वडाध्यक्ष फियाकले भन्नुभयो, ‘तर, स्थानीयवासी यसलाई स्वीकार्न तयार नहुँदा त्रास कायम छ ।’ यहाँका अधिकांश स्थानीय हत्यामा बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिमलाई कसैले सहयोग गरेको ठान्छन् । ९ जनाको हत्या भएकै दिन माखिमको शव उहाँको घर नजिकै फेला परेको थियो । मिक्लाजुङ–२ दशमीका चन्द्रवीर शेर्माले भन्नुभयो, ‘स्थानीयवासी एक्लै हिँड्न र रातको समयमा निस्कन सक्ने अवस्था छैन, घरमा सुत्नसक्ने अवस्थामा छैन ।’

विभत्स हत्याको दृश्य अधिकांश स्थानीयका आँखामा ताजै छ । मृतक धनराज शेर्माकी छिमेकी यामकुमारी फियाकले भन्नुभयो, ‘यस्तो घटना हामीले कहिल्यै सुनेका समेत थिएनौँ । नौ÷नौ जनालाई एक्लैले मार्‍योभन्दा हामीले कसरी विश्वास गर्ने ?’ आफूहरु राम्रोसँग सुत्न नसकिरहेको यामकुमारीको भनाइ छ । ‘साना नानीलाई अब केही हुन्न भनेर सम्झाउँनै सकेका छैनौँ’ यामकुमारीले भन्नुभयो, ‘आधामासु भएर बाँचिरहेका छौँ ।’

यो शान्त बस्तीलाई अहिले त्रासले गाँजेको छ । स्थानीयवासी निर्धक्क भएर बोल्न सकिरहेका छैनन् । ‘घरेलु हतियार साथमा लिएर, राम्रोसँग ढोका थुनेर सुत्न आग्रह गरिरहेका छौँ’ स्थानीय अगुवा बजिन्द्रप्रसाद फियाकले भन्नुभयो, ‘अहिले त प्रहरी र आफन्तको घुँइचो छ । भोलि स्थानीयवासी मात्रै भएका दिन कसरी डर हटाउने ? केही भन्न सकिरहेका छैनौँ ।’

आमाबाबुको काजकिरिया गरिरहनुभएका बमबहादुरकी जेठी छोरी दिलमाया फियाक स्थानीयको कुराले आफूहरु असुरक्षित भएको महसुस गरिरहेको बताउँनुहुन्छ । ‘सबैले डर मात्रै देखाउँछन् । घटनामा ज्वाइँ (मानबहादुर माखिम) बाहेक अरुको पनि हात छ भन्छन्, दिलमायाले भन्नुभयो, खोइ भोलि कसरी ज्यान जोगाउने ?’ स्थानीयमा देखिएको मनोवैज्ञानिक त्रास कम गर्न प्रहरीले अझै घटनास्थल छोडेको छैन । पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अनिलकुमार पौडेल ठूलो घटनापछि स्थानीयमा त्रास हुनु स्वभाविक भएको बताउनुहुन्छ ।

‘यत्रो घटना घट्यो, स्थानीयवासी त्रासमा हुनु स्वभाविकै हो,’ पौडेलले भन्नुभयो, ‘त्रास कम गर्न तथा सामूहिक हत्याका थप प्रमाण फेला पार्न प्रहरीको एउटा टोली घटनास्थलमा परिचालित छ ।’ प्रहरीको उक्त टोली केही दिन घटनास्थलमै रहने भएको छ । घटनाको विस्तृत अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी नेतृत्वको टोली शनिबार फिदिम फर्किएको छ । पौडेलले भन्नुभयो, ‘लामो अनुसन्धानपछि टोली फिदिम आउनेछ ।’