जनता टाइम्स

१९ श्रावण २०७७, सोमबार १७:५६

बालकोटबाट आएको प्रधानमन्त्री ओलीको प्रष्ट सन्देश


भक्तपुर, साउन १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको चाहनाअनुसार पाँच बर्ष नै मुलुकको कार्यकारी प्रमुखका रुपमा काम गरी नेकपालाई जिताएर सत्ता हस्तान्तरण गरी घर फर्कने प्रष्ट सन्देश दिनुभएको छ । सत्तारुढ नेकपाभित्रै आफूबिरुद्ध गुटबन्दी भइरहेको बेला अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आज निजी निवास बालकोटमा यस्तो घोषणा गर्नुभएको हो ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँग सरकारी निवास बालुवाटारमा छलफल गरेलगत्तै पत्नी राधिका शाक्यसहित निजी निवास बालकोट आउनुभएका प्रधधानमन्त्री ओलीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको प्रश्नमा पाँच बर्ष नै प्रधानमन्त्रीका रुपमा काम गरेर अवधी पूरा गरी घर फर्कने बताउनु भयो । प्रधानमन्त्री ओलीको निवासमै रहनुभएका पूर्वमन्त्री बाँस्कोटाले स्वागत गर्दै उहाँलाई प्रश्न गर्नुभयो, ‘अनि अव घर कहिले फर्कने ?’ जवाफमा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिले तपाईं नै बस्ने, म चाँहि अढाई बर्षपछि नेकपालाई जिताएर घर फर्किने ।’ प्रधानमन्त्री ओलीले अढाइ वर्ष कार्यकाल पूरा गरिसक्नु भएको छ । उहाँले २०७४ फागुन ३ गते प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएको हो ।

प्रधानमन्त्री ओलीले पूर्वमन्त्री बास्कोटा र पूर्वमन्त्री तथा भक्तपुरका सांसद महेश बस्नेतसँग प्रचण्डसँगको पछिल्लो वार्ताबारे ठट्यौलीसमेत गर्नुभयो । बालुवाटारमा जेरी खाएर कुराकानी भएको भन्दै प्रधानमन्त्रीले ‘जेरी मीठो थियो, कुराकानी त उस्तै हो, भोलि फेरि हुन्छ’ भन्ने जवाफ दिनुभएको थियो । जवाफमा बास्कोटाले नेकपा विवाद जेरी जस्तै जेलिएकोभन्दै ‘आज जेरी खानुभएछ,अब भोलि तितेकरेली खुवाउनु । तिते करेलीले लठ्ठै बनाएपछि पार्टीको विवाद मिल्छ कि’ भन्दै जवाफ दिनुभएको सहभागी एक नेताले जनताटाइम्स्लाई बताए ।
साढे दुई वर्षको बीचमा उहाँ आज तेस्रो पटक बालकोटस्थित निजी निवास आउनु भएको हो ।

तस्विरहरु : राजन काफ्ले, प्रधानमन्त्रीको नीजि सचिवालय