जनता टाइम्स

१९ श्रावण २०७७, सोमबार १८:३१

बाँके निकुञ्जका दुई उच्च अधिकारी स्रोत नखुलेको रकमसहित पक्राउ


काठमाडौं, साउन १९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके राष्ट्रिय निकुञ्ज बाँकेका दुई अधिकारी स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकायले स्रोत नखुलेको ८ लाख ९८ हजारसहित पक्राउ परेका हुन् ।

रकम साथमा लिई कार्यालयको बा.२ झ. १८७३ नं. को गाडीमा यात्रा गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियारले पक्राउ गरेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो । भट्टराई र रोकायलाई स्रोत नखुलेको रु ३ लाख ४८ हजार र बिभिन्न मितिको बैंक भौचर ५ लाख ५० हजार गरी कुल ८ लाख ९८ हजारसहित सैनामैना नगरपालिका वडा नं. १० रुपन्देहीबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उहाले बताउनु भयो ।