जनता टाइम्स

१९ श्रावण २०७७, सोमबार १९:३३

जनस्वास्थ्यको मापदण्ड पुरा नगर्ने होटल रेष्टुरेन्ट बन्द गराउने सरकारको निर्णय


काठमाडौं, साउन १९

सरकारले जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने काठमाडौं उपत्यकाका होटल तथा रेष्टुरेन्ट बन्द गराउने निर्णय गरेको छ । काठमाडौं उपत्यकामा दैनिक संक्रमितको संख्या बढिरहेका बेला अनुगमन गरेर पालना नगर्ने होटल तथा रेष्टुरेन्ट बन्द गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भौतिक दूरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने जस्ता जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने होटल तथा रेष्टुरेन्ट बन्द गर्ने निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भन्नुभयो, ‘जसले जनस्वास्थ्यको मापदण्ड पालना गर्दैनन् त्यस्ता होटल तथा रेष्टुरेन्ट बन्द हुन्छन् ।’

यसअघि पनि अनौपचारिक रुपमा अनुगमन गर्दा भौतिक दूरी पालना नभएको र मास्क नलगाई ग्राहकलाई भित्र प्रवेश गराएको भेटिएको थियो । मन्त्रालयले होटल तथा रेष्टुरेन्टहरूलाई व्यवस्थित गरेर चलाउन नसके बन्द गर्नु भनेर पत्राचार पनि गरिसकेको छ ।