काठमाडौं, साउन २० । भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रा पर्व आज सुरु भएको छ । गाईजात्रामा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर परिक्रमा गराइन्छ । यसरी नगर परिक्रमा गराउँदा मृतकको आत्मा गाईको पुच्छर समाएर वैतरणी पार हुन्छ भन्ने धार्मिक विश्वास छ ।
राजा प्रताप मल्लले पुत्रशोकमा रहेकी आफ्नी रानीलाई अरु धेरैले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन वर्षभरि निधन भएका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउन आदेश दिएअनुसार गाईजात्रा सुरु भएको किंवदन्ती छ ।
नेवार समुदायको बसोबास रहेका देशका विभिन्न शहरमा गाईजात्रा मनाइन्छ । तर यसपाली कोरोना सङ्क्रमण जोखिम बढ्दै गएकाले सचेत रहन सरकारले आग्रह गरेको छ । भिडभाड नगर्न र धर्मकर्मका कार्यमा तोकिएकाभन्दा बढी भेला नहुन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । गाईजात्राका अवसरमा काठमाण्डौ उपत्यकामा आज सार्वजनिक बिदा दिइएको छ ।
नगर परिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन गराइन्छ भने पछिल्लो समयमा मुलुकको राजनीति तथा सामाजिक विसंगतिप्रति व्यंग्य गरेर पनि यस पर्व मनाउन थालिएको छ ।
काठमाडौ उपत्यकामा तत्कालीन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्यु शोकमा डुबेपछि रानीलाई सान्त्वना दिन प्रताप मल्लले शहरमा वर्षभरी कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक पर्यो भनेर देखाउन यो जात्रा निकाल्न थालेको विश्वास छ ।
काठमाडौं उपत्यकालगायत मुख्य रुपमा नेवार समुदायको बाक्लो वस्ती रहेका शहरहरु बनेपा, धुलिखेल, त्रिशुली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौंडा, पोखरा र तानसेनमा पनि यो पर्व मनाइन्छ ।
उता, भक्तपुरमा निकालिने गाईजात्राको भने छुट्टै रौनक र आकर्षण छ । त्यहाँ आठ दिनसम्म यो पर्व चल्दछ । भक्तपुरमा गाईजात्राका दिन वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाको साँचा अर्थात डोकोलाई गाईको रुपमा सिंगारेर नगर परिक्रमा गर्ने गरिन्छ भने उमेर पुगेका व्यक्तिहरुको ताहामच्चा अर्थात चार वटा बाँस प्रयोग गरी गाईको प्रतीक बनाइ नगर परिक्रमा गर्ने चलन छ । त्यहाँको घिन्ताङकिसी र माँक प्याखँ अर्थात् बाँदर नाच अर्को विशेषता हो













प्रतिक्रिया दिनुहोस्