काठमाडौं, साउन २०
नेकपाभित्रको विवाद समाधान गर्ने विषयमा अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्ष बामदेव गौतमसँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता अघि उहाले गौतमलाई बिहान ११ बजेबाट ११ः४० बजेसम्म भेट्नु भएको हो ।
साउन १३ गते नेता कार्यकर्ताको भावनाअनुसार ६ बुँदे प्रस्ताव सार्वजनिक गर्नुभएका गौतमलाई दाहालले भेट्न उहाकै निवास भैसेपार्टी पुग्नु भएको थियो । विहान भएको भेटमा विशेषगरी पार्टीमा देखिएको विवादका विषयमा कुराकानी भएको थियो । छलफलमा उपाध्यक्ष गौतमले आफ्नो प्रस्ताव पार्टी एकतालाई थप मजबुत बनाउन ल्याएकाले यसमै अगाडी बढ्नु सबैको हितमा हुने आफ्नो निष्कर्ष रहेको सुनाउनु भएको छ ।
उहाले दाहाललाई अहिले व्यक्तिगत स्वार्थ हेर्ने भन्दा पनि पार्टीको हितमा सबैले कदम चाल्नुपर्ने बताउनु भयो । दाहालले भने आफुहरुलाई सहयोग गर्न आग्रह गर्नुभएको स्रोतले जानकारी दिएको छ । ओली–दाहालबीच दुई दिनको लगातार वार्तापछि उहा गौतमलाई भेट्नु पुग्नु भएको हो । दुई अध्यक्षबीच आज साँझ पाँच बजे पुन वार्ता हुदैछ । आजको वार्ताबाट समाधान निस्कन सक्ने नेताहरुले बताएका छन् ।
दुई अध्यक्षबीच पहिला सचिवालय बैठक बस्ने की स्थायी कमिटी बैठक बस्ने भन्नेमा कुरा अड्किएको स्रोतले बताएको छ । मुद्दामा सहमति गरेपछि सचिवालय बैठक बोलाउने तयारी रहेको बुझिएको छ । उपाध्यक्ष गौतमले प्रतिनिधि सभाको कार्यकालभरी ओली नै प्रधानमन्त्री र महाधिवेशनसम्म अध्यक्ष रहने गरी प्रस्ताव गरेका थिए । साथै उहाले दाहाललाई महाधिवेशन अघिसम्म कार्यकारी अध्यक्ष दिने, विधि र विधान अनुसार पार्टी सञ्चालन गर्ने लगायतका प्रस्ताव गर्नुभएको छ ।
नेकपा एकता बचाइराख्न भन्दै गौतमले अगाडि सारेको प्रस्तावमा पूर्व माओवादी खेमाका ११ जना स्थायी कमिटी सदस्यको समर्थन रहेको स्थायी कमिटी सदस्य मणि थापाले बताउनु भएको थियो । जसका कारण अध्यक्ष दाहाल पछिल्लो समय दवावमा रहनु भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्