काठमाडौं, साउन २०
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रधानमन्त्रीको राजिनामा माग्ने विषय जनताले राम्रो नमानेको स्पष्ट पार्नुभएको छ । उहाले पार्टीभित्र विवाद भएपनि राजिनामा माग गरेको विषय जनताले मन नपराएको बताउनु भएको हो ।
बिबिसी नेपाली सेवासँगको कुराकानीमा नेता गजुरेलले दुवै पदबाट केपी शर्मा ओलीको राजिनामा माग गर्नु गलत भएको समेत बताउनु भयो । ‘एक्कासी दुवै पदबाट हट भन्ने कुरा आउँदा त टकराव हुने नै भयो । नक्साको विषय अनि राष्ट्रियताको विषयमा देश एकजुट हुँदै गर्दा प्रधानमन्त्रीबाट हट भनेको कुरालाई त जनताले राम्रो मानेनन् नी’, उहाको भनाई छ ।
पूर्व माओवादी नेता समेत रहनु भएका गजुरेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो पटक चालेको कदमप्रति पनि असन्तुष्टि पोख्नु भएको छ । उहाले आफुहरुले दिएको सुझावलाई वेवास्था गरेका कारण अहिले समस्यामा परेको बताउनु भयो ।
कार्यकारी अध्यक्षबाट राजिनामा दिन आफुले दिएको सुझाव कार्यान्वयन समेत नगरेको गुनासो राख्नु भयो । आफ्नो सल्लाह मानेको भए एउटा निकास निस्कने तथा अहिले प्रचण्डमाथि पदलोलुपता देखाएको भनेर लागेका आरोप पनि खारेज हुने उहाको भनाइ छ । ‘त्यसबाट सहमतिको वातावरण समेत बन्ने थियो । तर कसको दबाब परेर हो त्यस्तो हुन सकेन ।’ विगतमा दाहाल निकट रहनु भएका गजुरेलको यस भनाईलाई राजनीति वृतमा निक्कै चासो पूर्वक हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्