काठमाडौं, साउन २० । प्रधानमन्त्री केपी शर्मा ओलीले संकटलाई बिरोध गर्ने अवसरका रुपमा लिने प्रवृत्ति आफ्नै लागि घातक हुने आफ्नो निश्कर्ष सुनाउनु भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणको बिषयमा निर्णय लिनुअघि बिज्ञहरुसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले यस्तो धारणा राख्नुभएको हो ।
उहाँले संकटलाई बिरोध गर्ने अवसरका रुपमा लिने प्रवृत्ति बदल्नुपर्ने आवश्यकता पनि औल्याउनु भयो । प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको जोखिम बढिरहेको सन्दर्भमा अब लिनुपर्ने रणनीतिबारे विज्ञहरुसँग आज छलफल गर्नुभएको हो । ‘संकटलाई विरोध गर्ने अवसरका रूपमा लिने प्रवृत्ति बदल्नु पर्छ । यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध । कहिले लकडाउन किन भनेर बिरोध, कहिले लकडाउन किन खोलेको भनेर विरोध । महामारी सबैको चुनौती हो, कसैले पनि यसलाई विरोधको अवसर ठान्नु हुन्न । यसलाई विरोधको अवसरका रूपमा लिनु हुन्न,’ सरकारी निवास बालुवाटारमा आयोजित छलफलमा प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणमा सरकारको एक्लो प्रयाशले मात्रै नपुग्ने धारणा पनि राख्नुभयो । ‘कोभिड नियन्त्रण सरकारले गर्ने कामले मात्र पुग्दैन, जनतामा चेतना जति बढाउन सकिन्छ कोरोनासँग लड्न त्यति सजिलो हुन्छ,’ बैठकमा प्रधानमन्त्री ओलीले भन्नुभयो ।परामर्श बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै प्रतिदिन १८ हजार जनासम्मको पिसिआर परीक्षण गर्न सक्ने गरी ल्याबको स्थापना गरिएको जानकारी दिनुभएको छ । उहाँका अनुसार हालसम्म ४ लाखको पिसिआर बिधिबाट परीक्षण गरिएको छ ।
‘प्रतिदिन १८ हजार सम्मको परीक्षण गर्न सक्नेगरी ल्याबको स्थापना गरिएको छ । ४ लाखको पिसिआर टेस्ट गरिएको छ,’ स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको परामर्श बैठकमा सचिव गुरागाईंले राख्नुभएको प्रतिवेदन उधृत गर्दै प्रधानमन्त्रीका सञ्चारबिज्ञ रामशरण बजगाईले जनताटाइम्ससँग भन्नुभयो ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमणबाट बच्न प्रभावकारी कदम चाल्नुपर्ने बताउनु भयो । ‘लक डाउन गर्ने, नगर्ने कुरा समुदायमा संक्रमणको स्तर हेरेर गर्न सकिन्छ । तर हरेकलाई सामाजिक दूरी कायम गर्न र मास्क अनिवार्य गर्न कडाई गर्नु पर्याे । मुख छोपेर हिँड्न बानी पार्नु पर्यो,’ देउवाको भनाई थियो ।
परामर्श बैठकमा जनस्वास्थ्य विज्ञहरुले कोरोना संक्रमण दर निकै बढ्दै गएको भन्दै फेरि लकडाउन गर्न सुझाव दिएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरका अनुसार छलफलमा आफूसहित विज्ञहरुले दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिइएको हो । ‘यही अवस्थामा अघि बढ्दा कोरोना थप भयावह हुन सक्ने विज्ञहरुले चिन्ता व्यक्त गर्नुभयो । उहाँहरुले छिट्टै कम्तीमा पनि २ साता लकडाउन घोषणा गरेर त्यो बीचमा नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सरकारलाई सुझाव दिनुभयो,’ बैठकमा आफ्नो धारणा राखेर बाहिरिनु भएका नेता ठाकुरले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्