काठमाडौं, साउन २० । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना राकथाम तथा नियन्त्रणका लागि सुझाव लिन आयोजना गर्नुभएको परामर्श बैठकमा सत्तारुढ दल नेकपाकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले बहिष्कार गर्नुभएको छ ।
सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डसहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र संसदको तेस्रो ठूलो दल जनता समाजवादी पार्टीका प्रमुख र जनस्वास्थ्यविदलाई आमन्त्रण गरिएको थियो । बैठकमा बिपक्षी दुई दलका प्रमुख शेरबहादुर देउवा र महन्थ ठाकुरसहित बोलाएका सवै बिज्ञहरु सहभागी भएपनि कार्यकारी अध्यक्ष प्रचण्ड भने अनुपस्थित हुनुभएको हो ।
प्रधानमन्त्री ओलीले आज बिहान ११ बजेबाट आयोजना गर्नुभएको बैठक बहिष्कार गर्दै अध्यक्ष प्रचण्ड भने पार्टी एकता जोगाउने अभियानमा लाग्नुभएका नेकपाकै उपाध्यक्ष बामदेव गौतमको भैसेपाटीस्थित निवासमा जानुभयो । गौतमसँग ४० मिनेट छलफल गरी उहाँ फर्कनुभयो । तर बालुवाटार जानुभएन । ‘पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डलाई बैठकमा बोलाइएको थियो, तर उहाँ आउनु भएन,’ प्रधानमन्त्रीको नीजि सचिवालयका एक सदस्यले जनताटाइम्ससँग भने ।
उनका अनुसार बैठकमा सहभागिताबारे कुनै जानकारी नदिई प्रचण्ड अनुपस्थित हुनुभएको हो । कोरोना रोकथाम तथा नियन्त्रण जस्तो संवेदनशील बैठकमा प्रचण्डको अनुपस्थितिलाई निकै गम्भीर रुपमा लिइएको छ । सत्तारुढ दलकै प्रमुख नेता अनुपस्थित भएर कोरोना महामारीमा नेकपा नेतृत्वको ध्यान छैन भन्ने सन्देश गएको छ । यस बिषयलाई सामाजिक सञ्जालमा नेकपाकै नेता कार्यकर्ताले कडा आपत्ति जनाएका छन ।
प्रतिक्रिया दिनुहोस्