जनता टाइम्स

२० श्रावण २०७७, मंगलवार १८:१२

उपत्यकास्थित चारवटै यातायात कार्यालयले स्थगित गर्यो लाइसेन्स वितरणको काम, यस्तो छ कारण


काठमाडौं, साउन २० । काठमाडौं उपत्यकाका चार वटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण कार्य स्थगित गरेका छन । सेवाग्राहीको अत्यधिक भीड लागेको कारण तत्कालका लागि सेवा स्थगित गरेको यातायात कार्यालयले जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने पनि सेवाग्राहीको अत्यधिक भीडका कारण दुरी कायम हुन सकेको थिएन । कार्यालयले असारदेखि सेवा दिँदै आएकोमा कार्यालयमा सेवाग्राहीको घुइँचो हुने गरेको थियो । एकान्तकुनास्थित कार्यालयका प्रमुख डम्मरबहादुर कार्कीका अनुसार काठमाडौं उपत्यकामा संक्रमण बढिरहेकाले सो कार्यालयसँगै जगाती, सुकेधारा र स्वयम्भुको ठूलोभर्याङ गरी चारै कार्यालयले सेवा बन्द गरेका हुन ।

कार्यालयले नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिने, अनुमतिपत्र वितरण र नवीकरण गर्दै आएको थियो । त्यसमध्ये कार्यालयले बन्दाबन्दीपछि नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएको छैन । अनुमतिपत्र नवीकरण भइरहे पनि वितरणको काम पनि तत्कालका लागि रोकिएको छ । चालकले यसअघि जसरी नै अझै केही समयका लागि कार्यालयले दिएको राजश्व तिरेको कागजबाटै सवारी साधन चलाउनुपर्ने कार्कीले बताउनुभयो ।

नवीकरणका लागि पनि आउने सेवाग्राहीको भीड नहोस भनी टोकन प्रणाली लागू गरिएको छ । कुपन लिएका दैनिक २५० सेवाग्राहीको नवीकरण भइरहेको उहाँले जानकारी दिनुभयो ।