जनता टाइम्स

२१ श्रावण २०७७, बुधबार ०९:४३

यस्तो छ प्रधानमन्त्री ओलीलाई बिज्ञका चार सुझाव


काठमाडौं, साउन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिपक्षी दलका नेता र बिज्ञहरुसहितको छलफल गरी आफ्नो दुई चाहना राख्नुका साथै कोरोनासँग जित्नका लागि गर्नुपर्ने कामबारे खुला खुलस्त सुझाव माग्नुभएको छ । सुझाव दिनेक्रममा प्रधानमन्त्री ओलीले विज्ञहरुको बुझाइमा अहिले देशमा के भइरहेको छ ? र कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले के गर्नुपर्छ भन्ने बिषयमा सुझाव माग्नुभएको थियो । उहाँको चाहनाअनुसार नै बिज्ञहरुले चार ओटा सुझाव दिएका छन ।

मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको चार घण्टा लामो छलफलमा अधिकांश समय अब लकडाउनको मोडल कस्तो हुनुपर्छ भन्ने विषयमा बहस भयो । केहीले पूर्ण लकडाउन र कर्फ्यु लगाउनुपर्ने मत राखे । तर, बहुसंख्यकले पूर्ण लकडाउन गर्नुको साटो अहिले सरकारले तोकेका मापदण्डहरु कडाइका साथ पालना गराउनुपर्ने र अर्थतन्त्र चल्न दिनुपर्ने सुझाव राखे ।

लकडाउनको मोडल फरक हुनुपर्छ भन्नेमा अधिकांश सहभागीको राय थियो। दूई तीन जनाले भने पूर्णलकडाउन हुनुपर्छ भन्नुभयो । अरुले अहिलेको मोडल परिर्वतन गरेर स्मार्ट लकडाउन गर्नुपर्छ भन्ने सुझाव दिए,’ छलफलपछि सहभागी बिज्ञहरुले भने । छलफलमा सहभागी जनस्वास्थ्यविज्ञ डाक्टर समीरमणि दीक्षितका अनुसार योजना आयोगका पूर्वउपाध्यक्ष जगदीशचन्द्र पोखरेल, मीनबहादुर श्रेष्ठ र डा। रवीन्द्र समिरले मात्रै कडा लकडाउन गर्नुपर्ने मत राख्नुभयो । अन्यले भने पूर्ण होइन, स्मार्ट लकडाउनको मोडल अपनाउनुपर्नेमा जोड दिएको उहाँले जानकारी दिनुभयो ।

बालुवाटारको छलफलमा विज्ञहरुले प्रधानमन्त्रीलाई मुख्यतः चार ओटा सुझाव दिएका छन् ।पहिलो सुझाव लकडाउनको मोडालिटी परिवर्तन गर्नुपर्छ, पूर्ण लकडाउन होइन, कडाइ गर्नुपर्छ भन्ने रहेको छ । यस्तै परीक्षणको दायरा अझै व्यापक बनाउनुपर्छ भन्ने दोस्रो सुझाव दिइएको छ। तेस्रो सुझावका रुपमा सार्वजानिक यातायात, होटल तथा रेस्टुरेण्टहरु कि त व्यवस्थित तरिकाले चलाउनुपर्छ, कि त बन्द गर्नुपर्छ । यातायातमा जोर–बिजोर प्रणाली लगाउनुपर्छ भन्ने छ । यसैगरी चौथो सुझाव अन्तर्राष्ट्रिय सीमा नाका र उपत्यका छिर्ने नाकाहरुमा अझ कडाइ गर्नुपर्छ भन्ने रहेको छ ।