जनता टाइम्स

२१ श्रावण २०७७, बुधबार १०:२३

राजधानी छिर्ने सवारीलाई काभ्रे र दोलालघाटमै रोकिने


बनेपा, साउन २१

भक्तपुरबाट राजधानी छिर्ने सवारी साधनको चेकिङ अब काभ्रे र दोलालघाटमै हुने भएको छ । बिपी राजर्मा भएर सिन्धुलीबाट आउने सवारी साधनलाई काभ्रेपलाञ्चोकको मंगलटारमा र अरनिको राजमार्ग भएर सिन्धुपाल्चोकबाट आउने सवारी साधनलाई दोलालघाटमै रोकेर जाँचपास गरिने भएको हो ।

यसअघि भने काभ्रे र भक्तपुरको सिमानाका साँगामा चेकजाँच गरिदै आएको थियो । तर, विशेषगरी तराई जिल्लाबाट आएका सवारीसाधन उपत्यका प्रवेश नाका साँगमा कडाइ गर्दा स्थानीय बासिन्दा जोखिममा रहेको भन्दै त्यहाका बासिन्दाले दुवै जिल्ला प्रशासनको ध्यानाकर्षण गराएका थिए । त्यसपछि काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्य र दुवै जिल्लाका प्रहरी प्रमुखलगायतको काभ्रेपलाञ्चोकको साँगामा भएको बैठकले सो निर्णय गरेको हो ।

बैठकमा बिनापास अन्तर जिल्ला आएका सवारी साधनलाई ती ठाउँमै रोकेर राख्ने कुरालाई अझ कडाइ गर्ने निर्णय भएको प्रजिअ तिमिल्सिनाले बताउनुभयो । पास लिएर आएकाहरुले पनि तोकिएको सङ्ख्याभन्दा बढी ल्याउने गरेको पाइएका कारण त्यसलाई समेत कडाइ गर्ने उहाँले बताउनुभयो । सो क्रममा उपत्यका केन्द्रित भएर व्यवसाय गर्ने कर्मचारी, विद्यार्थीका लागि सहज बनाउने विषयमा दुवै जिल्लाबीच सहमति गरेर खुकुलो गर्ने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

सो क्रममा मास्कको प्रयोगबिना बाहिर निस्केको पाइएमा सङ्क्रमण रोग ऐन, २०२० अन्तर्गत कारवाही गर्नका लागि पहिलोपटक सचेतनासँगै मास्क नलगाई हिँड्नेलाई मास्क बाँड्ने काम गरिएको उहाँले बताउनुभयो । उहाँ नेतृत्वको टोलीले साँगा र बनेपा चारदोबाटोमा सडकमा हिँड्ने सर्वसाधारणलाई मास्क वितरण गरेको थियो ।