जनता टाइम्स

२१ श्रावण २०७७, बुधबार ११:५८

डाक्टर, नर्स, फर्मासिस्ट लगायत थप ८ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि


काडमाडौं, साउन २१

पछिल्लो समय कोरोना संक्रमणको केन्द्रविन्दु बनेको वीरगञ्जमा स्वास्थ्यकर्मीलाई संक्रमण देखिने क्रम रोकिएको छ । मंगलबार राती विभिन्न अस्पतालमा कार्यरत थप आठ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो । थपिएका नयाँ संक्रमित स्वास्थ्यकर्मीहरुमा नेशनल मेडिकल कलेजमा कार्यरत एक जना स्त्री रोग विशेषज्ञ र नारायणी बयोधा अस्पतालमा एक जना रेडियोलोजिष्ट छन् ।

यस्तै नारायणी अस्पतालमा कार्यरत दुई जना फर्मासिस्ट, एक जना नर्स, एक जना एक्सरे सहायक र दुई जना स्वीपर रहेको अस्पतालका मेसु डा. मदनकुमार उपाध्यायले बताउनुभयो । पछिल्लो समय ६०० बढी संक्रमित थपिएको वीरगञ्जमा मात्रै झण्डै ४५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको डा. उपाध्यायले बताउनुभयो । ‘डाक्टरदेखि स्वीपरसम्म गन्ने हो भने नायारणी अस्पतालमा कार्यरत मात्रै ३५ बढीमा संक्रमण छ ।

यहाँ बाहेक बाहिरका स्वास्थ्य संस्थामा १० भन्दा बढीमा संक्रमण देखिएको छ,’ डा. उपाध्यायले भन्नुभयो । कोरोनाको हटस्पट बनेको वीरगञ्जमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहको नेतृत्वमा गएको टोलीले अनुगमन गरि फर्केको छ । मेसु डा. उपाध्यायले ठूलो संख्यामा संक्रमित थपिएको र उपचारमा सम्लग्न स्वास्थ्यकर्मीहरु धमाधम संक्रमणमा परेको भन्दै थप जनशक्तिको व्यवस्थापन गरिदिन स्वास्थ्य मन्त्रालय समक्ष आग्रह गरेको बताउनुभयो ।