जनता टाइम्स

२१ श्रावण २०७७, बुधबार १२:३९

कोरोना जोखिम : सिंहदरबार प्रवेश गर्न मास्क अनिवार्य


काठमाडौं, साउन २१

कोरोना जोखिमलाई ध्यानमा दिदै सरकारले मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार प्रवेशमा सावधानी अपनाएको छ । सिंहदरबारभित्र रहेका सुरक्षाकर्मीमा पनि कोरोना भाइरस संक्रमित फेला परेपछि सावधानी अपनाइएको हो ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सिंहदरबार प्रवेशमा कडाइ गर्ने निर्णय नभए पनि सावधानी भने अपनाइएको जानकारी दिनुभयो । सामान्य भेटघाट र विना काम सिंहदरवार प्रवेश गर्न खोज्नेलाई रोक लगाइएको छ ।
‘कडाइ गर्ने कुनै निर्णय भने मन्त्रालयबाट भएको छैन,’ उहाले भन्नुभयो, ‘तर सावधानी अपनाउन भनिएको छ। मास्क नलगाई सिंहदरबारभित्र प्रवेश गर्न पाइँदैन।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले सिंहदरबार भित्रका प्रहरीमा पनि कोरोना देखिएकोले सावधानी अपनाइएको जानकारी दिनुभयो । गृहमन्त्रीका प्रेस सल्लाहकार किरन भट्टराईले सिंहदरवारमा पत्रकारलाई प्रवेश रोक लगाइएको विषय अफवाह भएको जानकारी दिनु भएको छ । उहाले सिंहदरबार प्रवेशमा पत्रकारहरुलाई कुनै रोक नलगाइएको जानकारी दिनुभयो ।