जनता टाइम्स

२१ श्रावण २०७७, बुधबार १३:०४

सप्तरीमा उपचारका क्रममा तीन पुरुषको मृत्यु, कोरोनाको आशंका


सप्तरी, साउन २१

सप्तरीमा उपचारको क्रममा गएराति तीन जना पुरुषको मृत्यु भएको छ । मृतकहरु मध्ये एक जना केही समय पहिला विदेशबाट घर फर्किएका व्यक्ति हुन् । उनिहरुमा कोरोना संक्रमणको आशंका गरिएपछि पीसीआर परीक्षणको लागि स्वाब लिने कार्य भइरहेको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

तीनै जनाको स्वाब संकलन भएपछि मात्र संस्कार गर्न दिइने बताउदै उहाँले स्वाब संकलनको लागि स्वास्थ्यकर्मी टोली पठाइसकेको बताउनुभयो । दुई जना वृद्ध अवस्थाका हुन् भने अर्का ४५ वर्षीय पुरुष हुन् । डेढ महिना अघि बैदेशिक रोजगारबाट घर आइपुगेका जिल्लाको रुपनी गाउँपालिका वार्ड नम्बर ५ गढियाका ४५ वर्षीय पुरुषमा कोरोनासँग मिल्दोजुल्दो स्वास्थ्य समस्या देखिपछि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो ।

अवस्था गम्भिर बन्दै जाँदा थप उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो । धरान पुगेपछि उनको मृत्यु भएको वडा अध्यक्ष जगदिश दासले जानकारी दिनुभयो । उनको शव परिवारजनले घरमा ल्याएर संस्कार गर्न लाग्दा पिसिआर परीक्षणको लागि स्वाब लिन रोकेको बताइएको छ ।

त्यस्तै राजविराजस्थित छिन्नमस्ता अस्पतालमा ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचाररत डाकनेश्वरी नगरपालिका–९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका–७१ वर्षीय पुरुषको मृत्यु भएको छ । गत १५ गते अस्पताल भर्ना भएका दुबै जनाको गएराती मृत्यु भएको बताइएको छ । दुबै जनामा शंकास्पद लक्षण देखिएकाले अन्तिम संस्कार रोेकेर स्वाब संकलनका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य कार्यालयका निमित प्रमुख यादवले जानकारी दिनुभयो ।